लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो बन्यो

बुटवल, कार्तिक २४ गते । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादानमा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्ष भन्दा एक स्थानमाथि हुन सफल भएको छ ।

प्रदेशका १३ वटा अस्पतालमध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी गराउनुभयो । गत वर्ष लुम्बिनी प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशमा चौथो भएको थियो ।

 

अस्पतालमा ३ दिनदेखि जारी कार्यशालाको समापनमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले प्रदेशमा तेस्रो स्थान हासिल गरेको अस्पतालाई प्रमाणपत्रसहित सम्मान व्यक्त गरेका छन् ।
विवाद नआउने गरी छिटो छरितो र पारदर्शी रुपमा प्रभावकारी काम गरी स्वासथ्य सेवा दिन निर्देशन गरेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद प्रसाद गिरीले अस्पतालाई थप सेवाग्राही समर्पित गराउन आग्रह गरे ।

अस्पतालले पछिल्लो आर्थिक वर्ष ३ लाख २ हजार ६९६ सेवाग्राहीलाई बहिरंग स्वास्थ्य उपचार उपलब्ध गराएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा १५ हजार ७०२ ले बढी हो । अस्पतालमा अघिल्लो तथा आर्थिक वर्ष २०७८÷७९ मा २ लाख ८६ हजार ९९४ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७÷७८ मा १ लाख २२ हजार ८६४ जनाले सेवा लिएका थिए ।

 

आकस्मिक कक्षतर्फ पनि सेवा लिनेको संख्यावृद्धि भएको छ । पछिल्लो वर्ष अस्पतालमा ६७ हजार ५६१ जनाले आकस्मिक सेवा लिएका थिए । आर्थिक वर्ष २०७८÷७९ मा ५५ हजार ६२१ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७÷७८ मा ४४ हजार ८१३ जनाले आकस्मिक कक्षमा सेवा लिएको मेडिकल सुपेरिटेन्डेन थापाले जानकारी गराए ।