बाग्लुङको सोरठी भैलो रुपन्देहीमा

बुटवल, कार्तिक २६ गते । तिहारको देउसी भैलोको माहोल शुरु भएको छ । शुभदिपावलीमा खेलिने देउसी भैलो जताततै खेल्न थालिएको छ । कतै मौलिक संस्कृतिको भैलो खेल्न थालिएको छ, भने कतै आधुनिक बाजागाजासहित भैलो खेलिएको छ ।

नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका रुपमा मानिन्छ देउसी भैलो । विशेषत तिहारको लक्ष्मी पूजाको दिनदेखि सामूहिक रुपमा देउसी भैलो खेल्ने चलन छ । आफ्नो संस्कृति तथा परम्परा धान्नका लागि पनि भैलो खेल्ने गरिन्छ, भने मनोरञ्जन र सामाजिक कामका लागि आर्थिक उपार्जनका लागि पनि नेपालमा देउसी भैलो खेल्ने चलन छ । प्रविधिको विकासका कारण देउसी भैलाको पुरानो मौलिकता हराउंदै जान थालेपछि पुरानो शैलीको सोरठी भैलोको अहिले माग बढेको छ ।

रुपन्देही तिलोत्तमा वडा नम्बर २ मा दगातुन्डांडा रुपन्देही सम्पर्क समाज बाग्लुङले पुरानो भाका शैलीको सोरठी भैलो नांच देखाएको छ । परम्परादेखिको भैलो नांच दगातुन्डांडा रुपन्देही सम्पर्क समाज बाग्लुङले जेष्ठ नागरिक सम्मान केन्द्र स्थापनाका लागि भैलो खेलिएको समाजका सल्लाहाकार दयानिधी पौडेलले बताए । बाग्लुङका ८२ वर्षिय दुर्गाबहादुर भुजेलको नेतृत्वमा सोरठी, ख्याली र झुमरा देउसी भैलो खेलिएको छ । ८२ वर्षिय वृद्ले मादल बजाएर सोरठी गाएको भैलो आर्कषित बनेको छ ।

 

बत्तीको झिलिमिलीसँगै मनाइने तिहारको महत्व नै देउसी भैलोसंग गांसिएको छ । सबै जातजाति र भाषाभाषीलाई आत्मीयता र भातृत्वको मालामा गाँस्न सक्नु नै तिहारको सबैभन्दा सवल पक्ष हो । सद्भाव, सुखशान्ति र समृद्धिको कामना गर्दै खेलिने देउसी भैलो युगौंदेखि परम्पराका रुपमा चलिएको छ ।

१५–१६ औं शताब्दीको शक्तिशाली सिंजा साम्राज्यका बलि राजाका पालादेखि देउसीको परम्परा सुरु भएको देउसी भैलोको महत्व अहिले पनि कायमै छ । मारुलेसहितको सोरठी नांच हराउंदै जांन थालेकाले पुरानो भाकाको भैलो नांच संरक्षण गरी नयां पुस्तालाई हस्तान्त्रण गर्न आवश्यक रहेको बताउनुहुन्छ संस्कृति विद् डाक्टर गितु गिरी ।