रुपन्देहीको तिलोत्तममा व्यापार मेला

बुटवल, कार्तिक १ गते । रुपन्देहीको तिलोत्तममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव शुरु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि व्यापार मेला शुरु भएको हो ।

अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापारझ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डाक्टर भन्डारीले गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले निकै दुखले ल्याएको संविधान कार्यान्वयन हुन नसकेको बताए । जनताको पहुंमा सरकार पुराउन बनाएको संयन्त्रले ध्यान पुराउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आएको बताए ।
राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउदै अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको उनको भनाइ छ । देशको यही अवस्थाका कारणले नेपाली बिदेशिनेक्रम बढेको बताउंदै यसलाइ रोक्न आवश्यक रहेकोमा जोड दिए ।

उनले सरकार दुख पर्दा बोल्नुपर्ने पर्ने बताउदै दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताउंदै भने भने – नेपालका नेता खराब नभएपनि नेताका वरिपरी कस्ता मान्छे छन् भन्ने कुरा महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ
मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधी भन्डारीले मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयां प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउन मेला महोत्सवले सहयोग पूग्ने बताए ।

मेलास्थल जग्गाधनी मुक्ती पाठकले मेलाले तिलोत्तमा क्षेत्रका ब्यवसायीलाई आर्थिक चलायमान बनाउन सहयोगी बन्ने दावी गरे ।

जिल्ला समन्वय समिती संयोजक उमाकान्त चपाईले युवालाई स्वदेशमा रोक्न आवश्यक रहेको बताउंदै यस विषयमा सबैले ध्यान पुराउन आवश्यक रहेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आर्थिक मन्दीको बेला मेला आयोजना हुनु सकारात्मक रहेको बताए ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांणले महोत्सव सफल बनाउन आग्रह गर्दै यस्ता मेलामहोत्सवले रोजगार सिर्जना गर्न र आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले यस्ता व्यापारिक तथा व्यवसायी मेला महोत्सवले आर्थिक चलायमान बनाउन सहयोग गर्ने बताउंदै उधोगमैत्री नीति नहुंदा नेपालका उधोगी व्यवसायी संकटमा परेको बताए । उनले उधोगी व्यवसाय सफल नभए मुलुकको अर्थतन्त्र बलियो हुन नसक्ने तर्क गरे ।

कार्यक्रममा बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्याल, नेकपा एमाले नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष हर्कबहादुर टण्डन, तिलोत्तमा ५ का वडा अध्यक्ष रमेश डुम्रे, मेला सह आयोजनक सस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष बाबुलाल भुसाल, सहआयोजक सस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले बोलेका थिए ।

मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था,टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेषभुषा र झांकी गरी ११९ टोलीसहित प्रभातफेरी कार्यक्रम भएको थियो ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताए ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३ सय स्टल रहेको संघका पे्रस सल्लाहाकार खिमानन्द भट्टराईले जानकारी गराएका छ्न् ।