कृषि र नांचगानमा दर्षक आर्कषित

तिलोत्तमा, मंसिर ३ गते । तिलोत्तमा उद्योग वाणिज्य संघले रुपन्देहीको मणिग्राममा आयोजना गरेको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ । कृषिका स्टलहरुमा आकर्षण बढेको छ ।

मेला सचिवालय साईडमा माछाका ठुला २ पोखरी बनेका छन् । जसमा १० देखि १५ केजि सम्मका माछाहरु हेर्न दर्शकहरु आइरहेका छन् । रुपन्देहीको सियारी गाउँपालिका ५ छपिया बनघुसरीमा रहेको जलदेबी मत्स्य उत्पादक सहकारी सस्थाले ल्याएका माछाहरु हेर्नको लागि महोत्सव स्टल पुग्ने गरेका छन् ।

प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ रुपन्देहीको प्रवर्द्धनमा सञ्चालित जलदेबी मत्स्य उत्पादक सहकारी सस्थाले ल्याएका तथा मन्डल मत्स्य ह्याचरी फार्म तिलोत्तमा १३ पथ्थरडाडाले ब्यवस्थापन गरेका माछाहरुमा दर्शकको संख्या धेरै रहेको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधी भन्डारीले बताए।

सबल अर्थतन्त्रको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रं कार्कीले बताए।

रहु, ग्रास कार्प र बिगहेड जातका १५ केजी सम्मका माउ माछाहरु प्रदर्शनीमा राखिएको सहकारीका कार्यसमिति सदस्य केशबराज पोख्रेलले जानकारी दिए। मेलामा राखिएका माछाहरु प्रवर्धनका लागि राखिएको बताउँदै माग अनुसार फर्मबाट मेलामा राखिएको स्टलबाट माछाका परिकार बिक्री बितरण भईरहेको उनले बताए ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले जानकारी गराएका छन् ।
प्रदर्शनीमा कृषिमा हुंदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी गराए ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३ सय स्टल छन् ।
त्यस्तै मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने छन् ।

मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूणर् साथ र सहयोग प्राप्त हुनेमा संघले बिश्वास लिएको संघका सदस्य सुर्य न्यौपानेले बताए ।

शनिबार खेम सेन्चुरी, विष्णु जी पाण्डे माईला बा, लक्ष्मी बस्नेत, नारायाण बिपि परियार, सकुन्तला गैरे लगायतका कलाकारले मनोरञ्जन दिलाएका छन् ।  यस्तै आज आइतबार हेमन्त शर्मा, दिपक दर्लामी, रेनु राना मगर, निर्जला गुरुङ, लालमाया थापा, घनश्याम रिजाल लगायतका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गर्ने रहेको सांस्कृतिक समितिका संयोजक धनबहादुर गुरुङले नयांदिशालाइ जानकारी बताएका छन् ।