सात वर्षमा पनि बेलवास – बेथरी सडकको काम सकिएन

बुटवल, मंसिर ३ गते । रुपन्देहीको बेलवास – बेथरी सडक निर्माणको काम शुरु भएको सात वर्ष हुंदापनि सम्पन्न भएको छैन । समयमा सडक सम्पन्न नहुंदा सडक यात्रीले सास्ती भोगनु परेको छ । नेपालकै नमूना सडक बनाउने योजना रहेपनि उक्त योजना अलपत्र जस्तै भएको छ ।

बुटवलको बेलबासदेखि मायांदेवी गाउंपालिकाको बेथरीसम्म २२ किलोमिटर सडक ३ प्याकेजमा गरी ०७३ सालमा कुल १ अर्व ६७ करोडको लागतमा निर्माण थालिएको थियो । बेलबास– बेथरी सडक आयोजनाको दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भएको छ, भने उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन । २०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल–बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर अझैसम्म काम सम्पन्न भएको छैन ।

यो सडक खण्डमा साढे ८ किलोमिटरमध्ये ३ किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन । सडक सम्पन्न गर्न पत्राचार गरेपनि सडकको काम पुरा नभएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरीले बताए ।

२०७३ असार ३० गते बज्रगुरु कान्छाराम जेभी र रमण जेजेसिसिएल जेभीसंग ठेक्का सम्झौता भएपछि सुरु भएको यो आयोजना ३ वटा प्याकेजमा ठेक्का लगाइएको थियो । जसमध्ये रमण जेजेसिसिएल जेभीले काम सम्पन्न गरेको छ । ६८ करोड ३६ लाख १२ हजार २९४ रुपैयामा सम्झौता उक्त कम्पनीले काम सुरु गरेको थियो । त्यस्तै दक्षिणतर्फको एउटा साढे ८ किलोमिटर र अर्को ४ किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले ३७ करोड ८२ लाख ७० हजार ३४४ सम्झौतामा काम गरेको थियो । यो कम्पनीले अघिल्लो बर्ष नै काम सम्पन्न गरिसकेको छ । सुरुमै सम्झौता गरेको बज्रगुरु कान्छाराम जेभीले ६० करोड ८८ लाख ६१ हजार ४ सय ८४ रुपैयंमा ठेक्का पाएको थियो । सम्झौता अनुसार २०७६ असार मसान्तमा काम सकिनुपर्ने थियो । तर ५ पटक म्याद थप्दा पनि सडकले पूर्णता पाएको छैन ।