सकियो महाआरती धार्मिक मेला

बुटवल, मंसिर ८ गते । रुपन्देहीको तिलोत्तमा २ मा रहेको सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा एक दिने महा आरती धार्मिक मेला सम्पन्न भएको छ । अखण्ड दीप प्रज्ज्वलनसहित हरिबोधनी एकादशीका दिन महा आरती धार्मिक मेला आयोजना गरिएको हो ।

गत असार १४ गते हरिशयनी एकादशीको अवसरमा शुरु गरिएको अखण्ड दीप प्रज्ज्वलन हरिबोधनी एकादशीमा वैदिक विधि अनुसार विर्सजन गरिएको छ । शन्त शिरोमणी लोकानन्द स्वामीको प्रमुख आतिथ्यतामा उक्त धार्मिक कार्यक्रम उद्घाटन गरिएको थियो । हरिबोधनी एकादशीको विहानदेखि नित्य पुजाबाट शुरु भएका धार्मिक कार्यक्रम आज बिहान समापन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर पौडेलले जानकारी गराए ।

सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा प्रायजसो वैदिक विधि अनुसार धार्मिक कार्यक्रम दैनिक रुपमा सञ्चालन गर्ने गरिएको छ । महाआरती मेलालाई विशेष महत्वका साथ आयोजना गरिएको र भक्तजनको ठूलो घुईचो लागेको सामाजिक अगुवा ज्ञवालीले बताए ।