रुपन्देहीको मणिग्राममा जारी मेला अबधी पांच दिन थप

तिलोत्तमा, मंसिर ११ गते । रुपन्देहीको मणिग्राममा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवको अवधी थपिएको छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यही मंसिर १ गतेदेखि व्यापार मेला शुरु भएको हो । व्यापार मेलाको अबधी पांच दिन थपिएको आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मेला भित्रका स्टल व्यवसायी र दर्शकको माग अनुसार मेलाको अबधी पांच दिन बढाईएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार यही मंसिर १२ गतेसम्म चल्ने उक्त व्यापार मेला अब १७ गतेसम्म चल्ने छ ।

मेलाको अबधी बढाउंदा आर्थिक भार थपिने भएपनि व्यवसायी र दर्शकको मागलाई सम्बोधन गरेर मेलाको अबधी पांच दिन बढाईएको तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।

उक्त मेलामा साढे २ लाख दर्शकले अवलोकन गरेको र नौ करोड आर्थिक कारोवार भएको आयोजकहरुले बताएका छन् । १५ करोड आर्थिक कारोवार गर्ने लक्षसहित तिलोत्तमा उद्योग वाणिज्य संघले व्यापार मेला सञ्चालन गरेको हो ।

मेलामा २ सय ५३ वटा स्टल रहेका छन् । अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ व्यापार मेला सञ्चालन गरिएको हो ।