महिलाको मृत्यु भएपछि बुटवल आम्दा अस्पतालका मेसुमाथि हातपात

      बुटवल, मंसिर १३ गते । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा बच्चा जन्माउने क्रममा सुत्केरी महिलाको मृत्यु भएको छ । महिलाको मृत्यु भएपछि अस्पतालमा कार्यरत डाक्टरहरुले लापरबाही गरेको भन्दै मृत्कका आफन्तले आरोप लगाएका छन् । मृतकका आफनतले आक्रोस हुंदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्याललाई कुटपिट गरेका छन् ।

मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएको हो । महिलाको मृत्यु भएपछि मृतकका आफन्त र अस्पतालबीच विवाद बढेको थियो । विवाद बढ्दै जांदा मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्याललाई कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
सुत्केरी महिलाको मृत्यु भएपनि नवजात शिशु भने सकुशल रहेको अस्पतालले पुष्टि गरेको छ । कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको बताईएको छ । छलफलकै क्रममा बिरामीका आफन्तले चिकित्सकहरू माथि कार्यालयकै कुर्ची टेबलका खुट्टा भाँचेर टाउको र छातीमा प्रहार गरेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव बहनामा राखेर निस्कने तयारी भई सकेपछि केही उत्तेजक समूहको भिड पसेर मेसु बस्याललाई हातापात गरेको प्रत्यक्ष दर्शी एक चिकित्सकले बताएका छन् ।

राती २ बजेबाट अस्पताल आउने बिरामीहरू अस्पतालको गेटबाटै फर्काइएको छ भने अहिले अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरू हेर्नेबाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले बताएको छ ।
लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात तथा कुटपिट गर्ने क्रियाकलापको बिरोध गरेका छन् ।

डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी नभएसम्म उपचारमा संलग्न नहुने लुम्बिनी चिकित्सक संघले चेतावनी दिएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको बताए ।