पुष्पलाल पार्क जीर्ण, पुष्पलालको अपमान भएको जनगुनासो

बुटवल, मंसिर १४ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सम्झना र सम्मानमा रुपन्देहीको बुटवलमा पुष्पलाल पार्क छ । पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा पुराएको योगदानको उच्च कदर गर्दै पुष्पलाल कै नाममा पार्क स्थापना गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका सर्वमान्य नेता पुष्पलाल पार्क अहिले जीर्ण बनेको छ । लामो समयदेखि व्यवासिरे जस्तै रहेको पार्क संरक्षणको अभावले जीर्ण बनेको हो । बुटवलको अस्पताललाइनसंगै जोडिएको पुष्पलाल पार्क घेरिएको पर्खाल भत्काईएको छ ।

सडक विस्तार गर्ने नाममा पुष्पलालको शालिक रहेको उक्त पार्क भत्काईएको हो । केही वर्ष अघि भत्काईएको पार्कको व्यवस्थापन पनि गरिएको छैन, भने अन्यत्र पुष्पलाल पार्क निर्माण पनि गरिएको छैन । जसका कारण पुष्पलाल पार्क अहिले फोहोरका डस्विनहरु जम्मा गर्ने र पार्किङस्थल बनेको छ । सम्मानित नेता पुष्पलालको अर्धकदको शालिकमा फोहोरले ढाकिएपछि शालिकसमेत चिन्न सक्ने अवस्थामा छैन ।

बुटवलको शानको रुपमा रहेको पुष्पलाल पार्क ध्वस्त हुंदा पनि त्यसप्रति कसैको ध्यान गएको छैन । रुपन्देही र बुटवल कम्युनिष्टहरुको बाहुल्यता भएपनि पुष्पलालको नाममा बनेको पार्क जीर्ण हुंदा पनि कुनै कम्युनिष्ट पार्टी र तिनका नेताहरु बोल्न सकेका छैनन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पर्ने पुष्पलाल पार्कको संरक्षण, उचित व्यवस्थापनको आवश्यक देखिन्छ । तर पुष्पलाल पार्कको सामान्य रुपमा सरसफाई पनि गरिएको छैन । पुष्पलाल पार्कको उचित व्यवस्थापन र संरक्षणमा कसैको ध्यान जान नसकेको स्थानीयको गुनासो छ ।

सडकको कारण पुष्पलाल पार्क साघुरिदै गएकाले अन्यत्र सारेर भएपनि उचित व्यवस्थापन गर्नुपर्ने बताउछन्, बुटवलका नारायण नागरिला । पुष्पलालको सम्मानमा निर्माण गरिएको पार्क लामो समयसम्म मर्मत र सरसफाईसमेत नहुंदा पुष्पलालको कदर हुन नसेकेको बताउनुहुन्छ कम्युनिष्ट शुभ चिन्तक बिनोद मरासिनी ।

देशमा कम्युनिष्टको बाहुल्यता हुंदा पनि तिनै कम्युनिष्ट जन्माएका पुष्पलालको शालिक राखिएको बुटवलको पुष्पलाल पार्कको संरक्षण नहुंदा पुष्पलामाथि अपमान भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिब रानाले पहिला सडक स्तरउन्नतीलाई प्राथमिकता दिएर सडक बनाएपछि पुष्पलाल लगायत बुटवलका सबै पार्कहरु व्यवस्थित गरिने बताए ।