लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल, सरकार विस्तारमा केन्द्रित

बुटवल, मंसिर २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबीच शुक्रबार भेटवार्ता भएको छ ।

शुक्रबार बुटवलमा भएको भेटवार्तामा हिउंदे अधिवेशन आव्हान, प्रदेश सभाको विषयगत समितिको सभापति चयन, सरकार बिस्तार लगायतका विषयमा छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।

झन्डै एक घण्टा भएको छलफल भेटमा सरकार र सभाका काम कारवाहीलाई प्रभावकारी रुपमा लैजान एक आपसमा समन्वय आवश्यक्ता पर्ने मुख्यमन्त्री र सभामुखले जोड दिएका थिए ।

प्रदेश सभाको काम कारवाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको बिषयमा पनि छलफल भएको सभामुखका पे्रस सल्लाहाकार रुद्रहरि कुवंरले बताएका छन् ।

मुख्यमन्त्री र सभामुखबीच सरकार र प्रदेश सभा संचालनको सन्दर्भमा नियमित रुपमा छलफल भएपनि राजधानी देउखुरी उपत्यका सरेपछि बुटवलमा भएको भेटघाट पहिलो बताईएको छ ।
दुबैजना कार्यक्रमको सिलसिलामा रुपन्देही आएको अवस्थामा बुटवलमा भेटघाट गरी छलफल भएको थियो ।