बुटवलको उजिर सिंह माविले हीरक जयन्ती मनाउने

बुटवल, मंसिर २५ गते । रुपन्देहीको बुटवलमा रहेको उजिर सिंह माध्यमिक विद्यालय स्थापना भएको ६० वर्ष पुग्यो । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको स्कुलले स्थापनको ६० औं वर्ष हीरक जयन्तीका रुपमा मनाउने भएको छ ।

पुस ७ गते परेको स्थापनाको ६० औं वसन्तलाई हीरक जयन्तीका रुपमा विद्यालयले मनाउने तयारी गरेको छ । हीरक जयन्तीलाई सप्ताहब्यापी कार्यक्रम गरेर विद्यालयले मनाउने भएको सोमबार विद्यालयमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

हीरक जयन्ती मुल समारोह समितिका संयोजक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमलबहादुर शाक्यले हर्षोउल्लासका साथमा हीरक जयन्ती मनाउने गरी तयारी गरिएको जानकारी गराए । मंसिर २५ गतेदेखि पुस ७ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी हीरक जयन्ती मनाउन थालिएको अध्यक्ष शाक्यले बताए ।

विद्यालयका प्रधानअध्यापक पदमराज ज्ञवालीले सोही अवसरमा मंसिर २६ गते विद्यालय परिषरमा वृहद रक्तदान, मंसिर २७ गतेदेखि पुस १ गतेसम्म जिल्लास्तरीय भलिवल प्रतियोगिता आयोजना गरिने जानकारी गराए ।

विद्यालयका प्रधानअध्यापक पदमराज ज्ञवालीका अनुसार पुस १ गते अन्तरसदनात्मक भलिवल प्रतियोगिता, पुस २ गते टोल विकास संस्थास्तरीय हाजिरीजवाफ प्रतियोगितासँगै साहित्यिक कार्यक्रम, पुस ३ गते विभिन्न खेलकुद प्रतियोगिता, पुस ४ गते नगरस्तरीय विद्यालय वक्तृत्वकला प्रतियोगितासँगै साँस्कृतीक कार्यक्रम र पुस ५ गते नगरस्तरीय विद्यालय सांस्कृतिक प्रतियोगिता गरिने छ ।

 

पुस ७ गते हीरक जयन्ती मुल समारोह र सोही दिन उजिर सिंह स्मारीका विमोचन र विभिन्न क्षेत्रका ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिने छ । मुल समारोहको पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

उजिर सिंह माध्यमिक विद्यालयमा १ हजार १ सय ६६ जना विद्यार्थीले अध्ययनरत छन्, भने २८ शिक्षक कर्मचारीले अध्यापन गराउदै आएका छन् । पत्रकार सम्मेलनमा विद्यालयका राजमार्ग वारी र पारि गरि ३१ वटा सटर विद्यालयका नाममा रहेतापनि ति मध्य केहीको मात्र भाडा उठ्ने गरेको विद्यालयले बताएको छ ।
विद्यालयका अध्यक्ष विमलबहादुर शाक्यको अध्यक्षता र शिक्षक यमप्रसाद श्रेष्ठको संचालनमा कार्यक्रम भएको थियो ।