नदीजन्य पदार्थको चोरी निकासी रोकिएन

नवलपरासी, मंसिर २७ गते । नवलपरासी जिल्लाका खोलाहरुबाट नदीजन्य पदार्थ (ढुंगा, बालुवा) को चोरी निकासी रोकिएको छैन । विगत केही महिनादेखि सुनवल नगरपालिका क्षेत्रको तुरिया, पानभार, भूमही र बर्दघाटको खजुरा खोलाबाट चोरी निकासी बढेको छ । त्यसैगरी सुस्ता गाउंपालिकाको नारायणी नदीबाट पनि नदीजन्य पदार्थको चोरी निकासी बढेको स्थानीयले बताएका छन् ।

खोलाहरुबाट नदीजन्य पदार्थको चोरी निकासी बढेपनि त्यसलाई रोक्न कसैले चासो नदिएको स्थानीयको भनाई छ । खोलाबाट चोरी गरेर ल्याइएका नदीजन्य पदार्थ अवैधरुपमा डम्पिङ (घाटगद्धी) गरेर राख्ने गरेका छन् । तर, नियन्त्रण गरी जफत गर्न पालिकाले समेत कुनै चासो दिएको पाइएको छैन । खोलाहरुको अनुगमन गर्न पुगेको जिल्ला अनुगमन समितिले समेत सुनवलमा सबैभन्दा बढी नदीजन्य पदार्थको चोरी भएको पाएको थियो ।

चोरी गरी निकालिएका नदीजन्य पदार्थ खोला नजिक डम्पिङ गरेर राख्ने गरेको पाइएको जिल्ला अनुगम समितिका संयोजक एंव जिल्ला समन्वय प्रमुख भगौती यादवले बताए ।

सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले खोलाहरुमा देखिएको अवैध डम्पिङलाई हटाउनका लागि सम्बन्धित व्यक्तिलाई पत्रचार गरेको बताए ।
चोरी निकासी नियन्त्रणका लागि प्रहरीसँग समन्वय गर्दा सक्दो सहयोग नपाएको नगरपालिकाको गुनासो छ । तर प्रहरीले भने चोरी निकासी नियन्त्रणका लागि जुन सुकै समयमा खबर गरेपनि तत्काल पुग्ने जनाएको छ । नदीजन्य पदार्थ चोरी निकासी कार्यमा संलग्न व्यक्तिहरुले स्थानीय तह र प्रहरीसंग सेटिङ् (आर्थिक प्रलोभन) मिलाएर काम गर्ने गरेको स्थानीयले आरोप लगाउंदै आएका छन् ।

खोलाहरुबाट चोरी निकासी भएको र रातको समयमा ढुंगा, बालुवा बोकेका सवारी साधनका कारण सुत्नै नसकिएको भन्दै सुनवलका स्थानीयवासीले पालिकामा डेलिकेशनसमेत गएका छन् ।