बैंकको ब्याज घटाउन माग

बुटवल, पुस २ गते । बैंकहरुले बढाएको चर्को बैंकको ब्याज दर तिर्न नसकिने रुपन्देहीका व्यवसायीहरुले बताएका छन् । बैंकबाट ७ देखि ९ प्रतिशतमा ल्याएको ऋणको ब्याज बढेर १६ देखि १८ प्रतिशत भएकाले अब तिर्न नसकिने गुनासो गर्दै सरकार र नेपाल राष्ट्र बैंकप्रति आक्रोस पोखेका छन् ।

चर्को व्याजले उद्योग व्यवसाय संकटमा परेको भन्दै व्याजदर घटाउन व्यवसायीले माग गरेका छन् । व्याजदर एक अंकमा झारेर ब्यवसायीमैत्री नीति बनाउनु पर्ने व्यवसायीको माग छ । दुई अंकको बैंक व्याजदरले व्यवसायीहरू संकटमा परेको भन्दै उनीहरुले दुई अंकको व्याजदर अब तिर्न नसकिने बताए ।

उद्योग व्यापार संघ बुटवलको सोमबार सम्पन्न पांचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्ने रुपन्देहीका व्यवसायीहरूले व्याजदर घटाएर उद्योग व्यवसाय सञ्चालनका लागि व्यवसायमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिए । उद्योग व्यापार बिना देशको विकास सम्भव नहुने भएकाले साना र मझौला व्यवसायीलाई संरक्षण गर्ने दायित्व सरकारको भएको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आर्थिक कारणले मुलुक संकटमा परेको बताउंदै बैंकहरुले सम्झौतापछि व्याजदर बढाउदै जांदा आर्थिक क्षेत्रमा समस्या बढेको बताए ।

कार्यक्रमका प्राुख अतिथिसमेत रहेका प्रमुख पाण्डेयले करको दर नभई दायरा बढाउने गरी पालिका अघि बढेको बताउंदै उनले भने – कर्जा सम्झौताको बेलामा उल्लेख भए भन्दा दोब्बर ब्याज लिंदा आर्थिक क्षेत्रमा समस्या हुंदा व्यवसायी मर्कामा परेका हुन् ।

रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गैरकानुनी काम गर्न कसैलाई पनि छुट नभएको बताउंदै समाजमा शान्ति सुरक्षा कायम गर्न सबैको साथ सहयोग चाहिने बताए ।
उद्योग व्यापार संघ बुटवलका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय महासचिव खिमनारायण पराजुलीले व्यवसायीको लडाई राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंकर्स एसोसियसनसंग हुने बताए ।

बुटवल उद्योग वाणिज्य, संघका अध्यक्ष हरिप्रसाद अर्यालले कर राजस्वका दर घटाउनुपर्ने बताउंदै प्रदेश सरकारको एकीकृत सम्पत्ति कर कानुनका कारण कर राजस्व अत्यधिक धेरै हुंदा घटाउनु पर्ने बताए । बैंक व्याज दर लिंदा ८ प्रतिशत र तिर्दा १६ प्रतिशत हुंदा बैंकहरू मात्रै मोटाउने परिपाटीको अन्त्य हुनुपर्ने बताउंदै व्यवसायीमैत्री नीति र वातावरण आवश्यक रहेको अध्यक्ष अर्यालको तर्क छ ।

संघका अध्यक्ष गोविन्दराज गैरेले उद्योग व्यापारको विकास विना देशको आर्थिक विकास हुन नसक्ने बताउदै बैंकको व्याजर घटाउन र बुटवलको सडक डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री बनाउन आग्रह गरेका छन् ।

नेकपा माओबादी केन्द बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले व्यवसायीदेखि हरेक मानिसले ऋण खांदाको सम्झौता तोडेर बैंकहरुले आफु खुशी व्याज बढाउंदा नेपाल राष्ट्र बैंक रमिते बनेको बताउंदै नेपाल राष्ट्र बैंक जनताप्रति जिम्मेवार बन्न नसकेको बताए । उनले देश आर्थिक संकटमा परेको बेला प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मले विना तलब काम गर्नुपर्ने बताउंदै दलको नेतृत्व र आमजनताको माग अनुसार व्याज दर तत्काल नघटे जनस्तरबाट आन्दोलन उठान हुने र त्यसको जिम्मेवार नेतृत्व र राष्ट्र बैंक हुनुपर्ने चेतावनी दिए ।

कार्यक्रममा बुटवलकी उपमेयर सावित्रा अर्याल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, कांग्रेस नगर उपसभापति ज्योति भण्डारी, नेकपा एमाले बुटवल उपाध्यक्ष शोभाखर पोखरेलले, नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय वाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल, संघका उद्योग उपाध्यक्ष बिष्णुप्रसाद पाण्डे, महासचिव पदम जीसी, कोषाध्यक्ष अन्जु पाण्डे, युवा जनशक्ति विदेश पलायन हुनबाट रोकेर स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकारले स्पष्ट नीति बनाउन सरकारलाई आग्रह गरेका छन् ।

पांचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयां नेतृत्व चयन गर्ने छ ।