लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिने

बुटवल, पुस ८ गते । लुम्बिनी प्रदेशमा आज दुई जना मन्त्री थपिदै छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मन्त्रालय बिस्तार गर्ने तयारी छ । कांग्रेसबाट सरोज थापा (रोज राणा) र माओवादीबाट कृष्णा केसी नमुनालाई थपेर आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।

कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बांकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेर सरकारबाट पत्र आएको र आज आइतबार शपथ हुने प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी गराएको छ ।

सरकारका प्रवक्ता सन्तोष पाण्डेका अनुसार मुख्यमन्त्री चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आज आइतबार शपथग्रहण गराइने कार्यक्रम तय भएको छ । कृष्णा केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री बन्ने र थापालाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने कांगे्रस र माओवादीमा सहमती भएको एक कांगे्रस नेताले बताए ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । कांगे्रस भित्रको विवादले रोकिएको मन्त्रिपरिषद् विस्तारले आज आइतबार पूर्णता पाउने भएको छ ।