बुटवलमा सञ्चालित एक्स्पोमा दर्शक आर्कषित

श्यामलाल पोखरेल
बुटवल, पुस ८ गते । रुपन्देही व्यापार संघले बुटवलमा लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन गरेको छ । मेलामा दर्शकको आर्कषण बढ्दो छ । यही पुस ५ गतेबाट शुरु भएको उक्त मेला पुस १८ गतेसम्म सञ्चालन हुने छ ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ शुरु भएको लुम्बिनी एक्स्पो अवलोकन गर्न आउने दर्शक दिन प्रतिदिन बढ्दै गएका छन् । उक्त एक्स्पोमा राखिएका विभिन्न क्षेत्रका स्टलहरुले दर्शकलाई आर्कष्ण गरेका छन् । त्यस्तै कृषि स्टलहरु र सांस्कृतिक कार्यक्रमप्रति दर्शक बढी आर्कषित देखिएको रोल्पाकी हिराकुमारी घलेले बताइन ।

 

बुटवल मण्डपस्थित निर्माणधिन प्रदर्शनी केन्द्रमा संचालित एक्स्पोमा आइतबार चर्चिित लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी, श्रृजना खत्री, संगीता चितौरे, गायकहरु दिपु मगर, विष्णु सिंजाली मगर लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । शुरुका दिनमा दर्शकको सहभागिता कम देखिएपनि शनिवारदेखि दर्शकको सहभागिता बढेको रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारीले बताए । एक्स्पोको अवधीमा अझै चारवटा सार्वजनिक विदा रहेकाले दर्शकको उपस्थिती अझै बढ्ने आयोजकहरुको भनाइ छ ।
एक्स्पोमा सामानहरुको विक्रि वितरणसंगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, विभिन्न प्रतियोगिता लगायत मनोरञ्जनात्मक कार्यक्रम संचालन भईरहेका छन् । एक्स्पोमा डान्सिङ आईडल, लोकदोहोरी प्रतियोगिता, भजन प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

एक्स्पोमा होटल तथा रेष्टुरेन्ट, गार्मेन्ट तथा तयारी पोशाक, अन्तर्राष्ट्रिय उत्पादन, कृषि, ब्याग तथा जुत्ताचप्पल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी, श्रृंगार, उपहार तथा खेलौना, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस्, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, आइसक्रिम तथा वेकरीज, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस्, औषधिजन्य पदार्थ लगायतका ६ सय स्टल सहभागि रहेका छन् ।

एक्स्पोमा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकहरुको अ‍ेपक्षा छ । सांस्कृतिक कार्यक्रमसंगै कृषि मण्डप अवलोकन गर्न आउने र किनमेल गर्ने दर्शकको उल्लेखनीय सहभागीता बढ्दै गएको छ । त्यस्तै एक्स्पोमा राखिएको कृषि मण्डप र हिमाल, पहाड र तराईको स.स्कृति झल्कने खालको परियोजनाले धेरै दर्शकको मन जितेको छ । जसले गर्दा उक्त एक्स्पोमा दर्शकको सहभागिता बढ्दै गएको हो ।