खानेपानी संस्थामा चरम राजनीति, उपभोक्ता आक्रोशित

बुटवल, पुस ९ गते । रुपन्देही, तिलोत्तमा नगरपालिकामा रहेको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा चरम राजनीतिक चलखेल भएको छ । राजनीतिक भागबण्डा भएपछि उपभोक्ताले त्यसको बिरोध गर्दै आक्रोश पोखेका छन् ।
खानेपानी संस्थाले तिलोत्तमा नगरपालिकाको वडा नं १, ४, ५, ६, ८ र ९ तथा वडा नं ३ को अधिकांश भागमा खानेपानी तथा सरसफाईको व्यवस्थापन गर्दै आएको छ । संस्थाको कार्यसमितिमा राजनीतीक दलका कार्यकर्तालाई समावेश गर्ने नाममा उपभोक्ता भन्दा बाहिरबाट अनावश्यक चलखेल भएपछि उपभोक्ता आक्रोसित भएका हुन् । संस्थामा उपभोक्ता भन्दा पनि राजनीतीक दलका कार्यकर्ताको चासो बढेको र दलहरुकावीच भागवण्डा गरेर समिति बनाउने गरिएको उपभोक्ताले बताएका छन् ।

यही पुस १० गतेबाट सुरु हुने ७ औं अधिवेशन अन्तरगतको निर्वाचनका लागि संस्थाले संस्थापक अध्यक्ष माधव पाठक, पूर्व अध्यक्षहरु ध्रुवकुमार धिताल, खिमानन्द गौतम, पिताम्वर भण्डारी र सल्लाहकार सुरेन्द्र बर्मा रहेको ५ सदस्यीय निर्वाचन समिती गठन गरेको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीवीच पदाधिकारी र सदस्यरुमा बाडफांडमा सहमती भएको छ । तर सहमतीमा हस्ताक्षर गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष रुस्तम कंडेलले निर्वाचन समिति चयनप्रति असहमती जनाएपछि एमाले र कांग्रेस झस्केका छन् । एमाले र कांगे्रसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समस्यामा पारेको छ ।
यसअघि ति दलहरुवीच अध्यक्ष पदमा नेपाली कांग्रेसलाई, एमालेलाई उपाध्यक्ष र १ मनोनित महिला सदस्य तथा ९ जना पार्षद र एक जना लेखा समिति सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमती भएको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी, राष्ट्रिय जनमुक्ती पार्टीले भने निर्वाचन समिति पुनर्गठनको माग गर्दै गर्दै निवेदन दिएका छन् । निवेदन दिनेमा एमाले र नेपाली कांग्रेससंग मिलेर सदस्य बाडफांडमा हिस्सा लिनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष रुस्तम कण्डेल पनि रहेका छन् ।
आईतबार निर्वाचन समितिका पदाधिकारीहरु राजनीतिक दलमा आवद्ध भएको भन्दै स्वतन्त्र निर्वाचनका लागि निर्वाचन समिति पुनर्गठन गर्न निवेदन पेश गरेका उनीहरुले सोही मितीमै निर्वाचन समितीलाई अर्को निवेदन पेश गर्दै निर्वाचन प्रक्रिया अगाडी नबढाउन आग्रह गरेका छन् ।
निवे दन परेपछि अहिले निर्वाचन समिति पनि समस्यामा परेको छ । निर्वाचन समितीप्रति प्रश्न उठाउदै निवेदन दिनेहरु मध्ये १ जना बाहेक अन्य भने उक्त सरसफाई संस्थाका सदस्यसमेत नभएको बताईएको छ ।

खानेपानीको निर्वाचन समितीमा दलमा आवद्द रहेको भन्दै पुनर्गठन गर्न निवेदन पेश गर्ने बेलप्रसाद शर्मा योगिकुटीमा रहेको शंकरनगर खानेपानी संस्थाका उपभोक्ता हुन् । त्यस्तै दुर्गा सि बुटवल नयागांउका बासिन्दा भएको र भोमबहादुर बुढामगर टिकुलीगढका उपभोक्ता भएको बताईएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रुस्तम कण्डेलका नाममासमेत उपभोक्ता सदस्यको रुपमा नाम नभेटिएको खानेपानी संस्थाको कार्यालयले बताएको छ ।

चरम राजनीति गरेर राजनीतिक रुपमा भागबण्डा गरिएपनि आफुहरुले राजनीतिक भागबण्डा नगरिएको नेकपा माओवादी केन्द्रका तिलोत्तमा नगर अध्यक्ष बेलप्रसाद शर्माले बताएका छन् ।
तिलोत्तमा नगरपालिका भित्र रहेका खानेपानी संस्थान, सामूदायिक वनहरु र वडा वडामा गठन हुने आमा समूहदेखि टोल विकास संस्थाहरुमा चरम राजनीतिक रुपमा भागबण्डा गर्ने नौलो कुरा होइन ।
पहिला कांगे्रस र एमालेले भागबण्डा गरेर पद आलोपालो हुने गरी बाड्ने गर्दथे । केही वर्ष यतादेखि माओवादी पनि भाग बण्डामा पर्ने गरेको छ । हरेक सामाजिक संघ संस्थाहरुमा राजनीतिक भागबण्डा हुन थालेपछि पछिल्ला वर्षहरुबाट जनमुक्तिले हस्तक्षेप गर्न थालेको छ । अहिले जनमुक्ति, नेकपा एकीकृत र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राजनीतिक रुपमा भागबण्डा खोज्न थालेपछि कांगे्रस, एमाले र माओवादीलाई टाउको दुखाइ भएको छ ।

उपभोक्ताले स्वतन्त्र रुपमा निर्वाचनको माध्यामबाट या सहमतिका आधारमा संस्थाहरुमा नेतृत्व चयनको माग गरेपनि वर्षोदेखि सामाजिक संघसस्थाहरुमा हालीमुहाली गर्दै आएका एमाले, कांगे्रस र माओवादीका कारण तिलोत्तमाका आमउपभोक्ता पीडित छन् ।