नेकपा मसालले मनायो माओ जयन्ती

बुटवल, पुस १० गते । नेपाल कम्युनिष्ट पार्टी मसालले विश्व कम्युनिष्ट नेता माओत्सेतुङको १ सय ३१ औं जन्मजयन्ती मनाएको छ । नेकपा मसालले माओ जयन्ती देशभर मनाएको सो पार्टीका प्रवक्ता रामप्रकाश पुरीले जानकारी गराएका छन् । माओको सम्झनामा नेकपा मसाल रुपन्देहीले पनि मंगलबार बुटवलमा माओको जन्मजयन्ती मनाएको छ ।
सोही कार्यक्रममा बोल्ने कम्युनिष्ट शुभ चिन्तकहरुले माओको बिचार र माओले प्रतिपादन गरेका सिद्वान्तहरु समय सापेक्ष रहेको बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टीको राज्य व्यवस्था कायम गर्नुपर्ने र त्यसका लागि माओका बिचारलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने उनीहरुको तर्क छ । कम्युनिष्टको नाममा गैर कम्युनिष्टहरु हावी हुंदै गएकाले त्यसतर्फ सचेत भएर माओले देखाएको बाटोमा कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै वामपन्थी नेता दुर्गानाथ खरेलले माओका विचार वैज्ञानिक र व्यवहारिक भएकाले माओका बिचारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले माओका विचार र माओले प्रतिपादन गरेका सिद्वान्तहरु वैज्ञानिक भएको दावी गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम, कम्युनिष्ठ संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, ढुण्डिराज शर्मा, लोकराज भुसाल, पदम श्रेष्ठ, दिलबहादुर नेपाली, शशी पौडेल, लालबहादुर क्षेत्री, रामप्रसाद पाण्डेय लगायतले बोल्दै विश्व कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुराउन माओको भूमिका प्रमुख रहेकाले २१ औं सताब्दीमा पनि माओका विचार र सिद्वान्त समय सान्दर्भिक रहेको बताए ।

नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्थको अध्यक्षता र भिमलाल न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

नेकपा मसाल जिल्ला समिति प्यूठान, दाङ, अर्घाखांची पाल्पा, गुल्मी, कपिलवस्तु, नवलपरासी, बांके, बर्दिया, रोल्पा, रुकुमलगायत लुम्बिनीका सबै जिल्लामा आआफ्नै ढंगले माओ जयन्ती मनाएको बताईएको छ ।

विभिन्न खेमामा विभाजित कम्युनिष्टहरुले कतै संयुक्त र कतै एकल रुपमा माओत्सेतुङको १ सय ३१ औं जन्मजयन्ती मनाएका छन् ।