संघले अधिकार नदिएको लुम्बिनीका मुख्यमन्त्रीको गुनासो

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवस

बुटवल, पुस १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संविधानले दिएको संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरी काम नभएको बताएका छन् । मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाउने अधिकार अधिकार संघीय सरकारले नदिंदा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न भएको र जनतामा निराशा छाएको बताए । संविधानले सबै तहका सरकारलाई आआफ्नै जिम्मेवारी र अधिकार दिएको भएपनि कार्यान्वयन नहुंदा संघीयताप्रति नै जनतामा वितृष्ण उत्पन्न हुने गरेको मुख्यमन्त्रीले बताए ।

मंगलबार सम्पन्न गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको ११ औं वार्षिक साधारणसभा तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । मुख्यमन्त्री चौधरीले संविधानले दिएको संघीयता खत्तम नहुने तर संघीयता कार्यान्वयनका लागि सबै तहलाई पूर्णअधिकार दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री चौधरीले सार्वजनिक जग्गाको बांडफांड तथा व्यवस्थापनको अधिकार प्रदेश तहमा र वनको अधिकार केन्द्रमा रहंदा विकास आयोजनाहरुमा धेरै समस्या हुने गरेको बताए । लुम्बिनी प्रदेश सरकारले उद्योग स्थापना हुने र पर्यटक पुग्ने ठाउंलाई सडक संजालले जोड्ने निति बनाएको बताउंदै मुख्यमन्त्री चौधरीले भने – उद्योग व्यवसायमा लगानी गर्न गर्नुस ।

मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशका जनतालाई सहज र सर्वशुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै मुटु अस्पतालको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्दता जनाए ।

कार्यक्रममा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशका मात्र नभई ४४ जिल्लाका विरामीले अस्पतालबाट सेवा लिईरहेको बताउंदैं जग्गा अभावले अस्पतालको सेवालाई बढाउन समस्या भएको गुनासो गरे । तिलोत्तमामा प्रस्तावित जग्गाप्राप्तिका लागि पहल गर्न मुख्यमन्त्री चौधरीलाई आग्रह गदै अध्यक्ष आलमले भने – अस्पतालले जनताको सेवा गर्न चाहेको छ, तर प्रयाप्त मात्रमा जग्गाको अभावले भौतिक संरचनाको अभाव छ ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहितको अस्पताल चितवन पश्चिमको पहिलो अस्पताल भएको बताए ।
अस्पतालले संचालन गरेको क्याथल्याबबाट मुटुका विरामीहरुको एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियो सेन्टिसिस, पिटिएमसि र आर एच सि सेवा समेत यसक्षेत्रमै पहिलो भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले कतिपय सरकारी कानुनहरु समुदायले संचालन गरेका स्वास्थ्य र शैक्षिक संस्थामैत्री नभएको भन्दै त्यस्ता कानुनहरुलाई संसोधन गर्नुपर्ने बताए ।

अर्का पूर्व स्वास्थ्यमन्त्री एवं सांसद विष्णु पन्थीले सरकारी गोलचक्करका कारण विकासका काम अगाडी बढ्न नसकेको भन्दै सबैभन्दा पहिले वनका कानुन संसोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देही सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर कुवंर, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल लगायतले बोलेका थिए ।

कार्यक्रममा अस्पतालका विभिन्न शाखाबाट उत्कृष्ट कार्य सम्पादन गर्र्ने कर्मचारीलाई पुरस्कृत गरिएको छ । त्यस्तै स्थापनाकालदेखि नै सेवा प्रदान गर्दै आएका कर्मचारीलाई पनि सम्मान गरिएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता र गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका सहसचिव बाबुराम बोहोराको संचालनमा कार्यक्रम भएको हो ।