लुम्बिनीमा पर्यटक थपिदै

भैरहवा, पुस १८ गते । बुद्द जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनमा उत्साह थपिएको छ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र चार वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीमा विस्तारै तंग्रिदै गएपनि पूर्ववतः अवस्थामा भने अझै फर्किइ सकेको छैन ।

सन् २०२३ मा लुम्बिनीमा आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन भने पछिल्लो चार वर्ष यताकै उच्च छ । यसले लुम्बिनी क्षेत्रको पर्यटन पूरानै लयमा फर्किने अपेक्षा बढाएको छ । सन् २०१९ मा लुम्बिनीमा १५ लाख ५८ हजार ३२६ पर्यटक आएर नयां रेकर्ड कायम भएको थियो । बीचमा दुई वर्ष कोरोना महामारीले पर्यटकको संख्या ह्यात्तै घट्यो । २०२२ बाट लयमा फर्किरहेको लुम्बिनीको पर्यटन क्षेत्र अझै तंग्रिन सकेको छैन ।

लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०२३ मा आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी ९ लाख ९८ हजार ९३८ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यो पछिल्लो चार वर्षको आंकडामा राम्रो तथ्यांक हो । अहिले लुम्बिनीमा आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन राम्रो छ । तर, भारतबाहेक आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन पुरानै अवस्थामा फर्किन भने नसकेको लुम्बिनी विकासकोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।

सन् २०२३ मा लुम्बिनीमा २ लाख ६६ हजार ५१० भारतीय पर्यटक आएका छन् । यस्तै, तेस्रो मुलुकका ७६ हजार २१० पर्यटक लुम्बिनी आएका छन् । आन्तरिक भने ६ लाख ५६ हजार २१८ जनाले मात्रै लुम्बिनी घुमफिर गरेका छन् । यो तथ्यांक पछिल्लो चार वर्षको धेरै भएपनि तेस्रो मुलुकका खर्चालु पर्यटक आगमन भने राम्रो छैन । जसले गर्दा व्यवसायीले भने खासै फाइदा लिन सकेका छैन ।

मुलुलकमा पर्यटक आगमनले नयां रेकर्ड राखेपनि लुम्बिनी आउने तेश्रो मुलुकका पर्यटकको संख्या भने न्यून छ । सन् २०२३ मा तेश्रो मुलुकबाट १० लाख १४ हजार ८७४ पर्यटक नेपाल आएका छन् । त्यसको साढे ७ प्रतिशत हाराहारी मात्रै लुम्बिनी आका छन् । यसअघि सन् २०१९ मा पनि ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आउंदा एकलाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए । पछिल्लो समय जथाभावी सडक संजाल भत्काउने र लथालिंग छाड्ने गर्दा पनि आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन प्रभावित भइरहेको छ ।

काठमाडौं, पोखरा, चितवन आउने आन्तरिक र तेस्रो मुलुकका पर्यटक सडककै कारण लुम्बिनी आउन सकेका छैनन् ।