लुम्बिनी प्रदेशमा झिमरुक गाउंपालिका बन्यो उत्कृष्ट

श्यामलाल पोखरेल  बुटवल, भदौ ८ ।  लुम्बिनी प्रदेश अन्तर्गत प्यूठानको झिमरुक गाउंपालिकाले प्रदेशमै उत्कृष्टता हासिल गरेको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷०७७ को लेखापरिक्षण प्रतिवेदन अनुसार झिमरुक गाउंपालिका कम बेरुजु हुनेमा परी उत्कृष्टता हासिल गरेको हो ।

लुम्बिनी प्रदेशकै पहिलो नम्वरमा बेरुजी कम गर्ने गाउंपालिकामा झिमरुक गाउंपालिका परेको छ । कम बेरुजु गरेर झिमरुक गाउंपालिका देशभरमै सातौ नम्वरमा परेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरिक्षण प्रतिवेदनले पुष्टि गरेको हो । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार झिमरुकको बेरुजु प्रतिशत शुन्य दशमलव १३ मात्र छ ।

८५ करोड १३ लाख ६ हजार रुपैयांको लेखापरिक्षण गरिएकोमा १३ लाख १० हजार रुपैयां मात्र बेरुजु देखिएको छ । तर, उक्त बेरुजु पेश्की बेरुजु अन्तर्गत हो । जो फस्र्यौट भइसकेको छ । झिमरुक गाउंपालिकाले बेरुजु शुन्य भएको दाबी गरेको छ । देशभर ७ सय ५३ वटा स्थानीय तह छन् ।

त्यसमध्ये ४ सय ६० गाउंपालिका, २ सय ७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिकासहित लुम्विनी प्रदेशका १ सय ९ स्थानीय तहलाई उछिन्दै झिमरुक गाउंपालिका कम बेरुजु हुने गाउंपालिकामा परेको हो । झिमरुकको बेरुजु देखिएको १३ लाख १० हजार संघीय सरकारले पठाएको शसर्त अन्तर्गत विद्यालयमा वितरण गर्ने सेनेटरी प्याड खरिदको हो । गाउँपालिकाका नायव सुब्वा निमप्रसाद भण्डारीका अनुसार गाउंपालिकाले सेनेटरी प्याड खरिद गरिसकेको थियो ।

कोरोनाका कारण विद्यालय बन्द भएपछि वितरण हुन मात्र बांकी रहेकाले झिमरुक गाउंपालिकाको बेरुजु शुन्य भएको नायब सुव्वा भण्डारीको दावी छ । कर्मचारी र जनप्रतिनिधीहरुको काम कर्तव्य र अधिकारबारे प्रष्ट भएमा स्थानीय तहको कार्यसम्पादनमा समस्या नहुने झिमरुक गाउंपालिका अध्यक्ष तिलक जीसीको बताउछन् ।

कहिलेकाही काम कर्तब्य र अधिकार नबुझ्दा समस्या हुने गरेकाले समस्या आउन सक्ने भएकाले त्यसप्रति सचेत हुदै झिमरुक गाउंपालिकालाई नमुना बनाउने अभियान जारी रहेको अध्यक्ष जीसीको भनाइ छ । असल कर्मचारी, जनप्रतिनिधी र सरोकारवालाहरुको साथले बेरुजु कमहुने सूचीमा परिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालको भनाइ छ । झिमरुक गाउंपालिकाको यो बेरुजु व्यवहारमा शुन्य जस्तै भएको प्रमुख प्रशासकीय अधिकृत भुसाल बताउछन् ।