कानुन निर्माणमा स्थानीय तह सक्षम हुनुपर्छ – सभामुख

प्रदेश सभा र स्थानीय तहबीच बुटवलमा अन्तरक्रिया

बुटवल, पुस २५ गते । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनबारे बुटवलमा अन्तरक्रिया गरेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकापालिकाका सदस्यहरुसंग बुधबार बुटवलमा अन्तरक्रिया गरिएको हो ।

प्रदेश सभा सचिवालयले प्रदेशका १२ वटै जिल्लामा स्थानीय तहका, प्रमुख, उपप्रमुख र कार्यपालिकाका सदस्यहरुसंग अन्तरक्रिया शुरु गरे अनुसार बुधबार बुटवलमा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियापछि पत्रकार सम्मेलन गरी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले संघ, प्रदेश र स्थानीय तहलाई एकीकृत गरेर समन्वयको आधारमा काम गर्नुपर्ने बताए । उनले तिनै तहका सरकारबीच समन्वय भएमा कानुन निर्माणमा सहज हुने र संघीयता प्रभावकारी बन्ने बताए ।

कानुन निर्माणमा स्थानीय तह सक्षम हुन आवश्यक रहेको बताउंदै सभामुख घर्तीले भने –कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसंग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिने छ ।

सभामुख घर्ती मगरले बिकास निर्माणसंगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताए । उनले कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संबेदनसिल रहनु पर्नेमा जोड दिए । प्रदेश सभा र स्थानीय तह बीच अन्तरसम्बन्ध स्थापित गरी शुसासन कायम गर्न र जनमैत्री काम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलन अघि भएको अन्तरक्रियामा बोल्दै उपसभामुख मेनुका खाड केसीले स्थानीय तह र प्रदेश सभाबीच सहकार्य जरुरी रहेको बताइन ।

प्रदेश सभा सदस्य तुल्सी चौधरीले स्थानीय तहलाई अझै कृयाशिल बनाउन स्थानीय ऐनको आवस्यकता रहेको बतांदै उनले बताए ।

प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउंदै सोही अनुसार जिम्मेवारी निर्बाह गर्न आग्रह गरेका छन् । उनले जनमैत्री काम गर्न जनप्रतिनिधिलाई सुझाव दिदै संघीयता सफल बनाउने जिम्मेवारी थपिएको बताए ।

कार्यक्रममा बुटवल उप–महानगरपालिका उपमेयर साबित्रा देबि अर्यालले संघीयताको मर्म अनुसार सहकार्य गर्नु आवस्यक रहेको बताउनुभयो ।कार्यक्रममा सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल, सियारी गापा अध्यक्ष थानेस्वर घिमिरे लगायतले कानुनी प्रक्रियामा सहभागी बनाउनु पर्नेमा जोड दिए ।
प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले प्रदेश सभाको गतिविधि र सभा संचालन सम्बन्धि सहजीकरण गरेका थिए ।