बैंक ग्यारेन्टीमा तेल पाउनु पर्छ – पेट्रोलियम व्यवसायी

श्यामलाल पोखरेल

बुटवल, पुस २८ गते । बैंक ग्यारेन्टीमा तेल उपलब्ध गराउन रुपन्देहीका पेट्रोलयम व्यवसायीले सरकारसंग माग गरेका छन् । पैसा तिरे अनुसार आयल निगमबाट पुरा तेल नपाएको गुनासो गर्दै आएका पेट्रोलियम व्यवसायीले बैंक ग्यारण्टीमा तेल नपाउंदा समस्या भोग्नु परेको गुनासो गरेका छन् ।

पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले लगानी अनुसार प्रतिफल नपाएको बताए । पेट्रोल पम्प स्थापना गर्दा ठूलो लगानी गर्नुपर्ने र सञ्चालन गर्दा खर्चवृद्विले व्यवसायबाट विस्थापित हुने अवस्था आएको उनीहरुले बताए । पेट्रोलियम व्यवसायीले नेपाल आयल निगम भलवारी डिपोको क्षमतावृद्वि गरी २४ सै घण्टा सेवा दिन आग्रह गरे ।

सोही कार्यक्रममा बोल्दै नेपाल आयल निगमका निमित्त कार्यकारी प्रमुख नगेन्द्र शाहले जहां समस्या छ, त्यहीबाट समाधान खोज्नु पर्ने र त्यसका लागि निगम व्यवसायीको साथमा रहेको बताए । बैंक ग्यारेन्टीमा तेल पाउनु पर्ने व्यवसायीको हकमा माग ठिक भएपनि भारतबाट तेल ल्याउंदा नगद भुक्ततानी गर्नुपर्ने भएकाले सम्भव नभएको उनले बताए । नेपाल आयल निगमले आफ्ना कमजोरी सुधार गर्ने प्रतिवद्वता जनाए ।

लुम्बिनी प्रदेशका सांसद वैजनाथ जयसवालले नीजि क्षेत्रका व्यवसायीलाई हेर्ने आयल निगमको दृष्किोण ठिक नभएको बताउंदै व्यवसायिका समस्या प्रदेश सभामा उठाउने बताए ।

नेपाल आयल निगमका वितरण विभाग प्रमुख पूर्ण रिजालले आयल निगमले व्यवसायीलाई तेल कम नदिएको दावी गर्दै विश्वास नलागे आफै आएर दाम अनुसार तेल नापेर लैजान व्यवसायीलाई आग्रह गरेका छन् ।

रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशको कानुन कार्यान्वयनमा सम्झौता गर्न नसकिने बताउंदै जनतालाई सेवा दिने गरी व्यवसाय चलाउन आग्रह गरे । व्यवसायीलाई कही कतै प्रशासनिक समस्या भएको भए आफुले ति समस्या सुल्झाउन तयार रहेको बताउंदै व्यवसायीका समस्या आफ्नो कार्यालयबाट समाधान हुने भए आजको आजै समस्या समाधान गर्दिन प्रमुख जिल्ला अधिकारी अर्यालको प्रतिवद्वता छ ।

नेपाल आयल निमग भलवारी डिपो कार्यालय प्रमुख कमला न्यौपानेले सहज आपूर्ति र विक्री वितरणमा भएका कमजोरीलाई आयल निमगले सुधार गरेको दावी गर्दै व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्वप्रसाद अर्यालले राजनीतिक नेतृत्वले नीजि क्षेत्रको समस्या बुझ्न नसक्दा समस्या भएको बताउंदै डिजेलमा लगाईएको कर घटाएर मुल्य समायोजन गर्नुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले व्यवसायीका मागप्रति आयल निगमलाई गम्भीर हुन आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरतबहादुर विक, नेपाल चेम्वर अफ कर्मशका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, सिद्वार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, पश्चिमाञ्चल ट्रक यातायात समितिका अध्यक्ष यमप्रसाद पाण्डेय, ट्याङकर व्यवसायी संघ रुपन्देही अध्यक्ष रोकेशकुमार कसौधन, पत्रकार दामोदर खनाललगायले बोल्दै सरकारलाई नीजि क्षेत्रका व्यवसायीका समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

धन्यबाद ज्ञापन गर्दै पेट्रोलियम डिलर्स एशोसिएशन लुम्बिनी प्रदेशका अध्यक्ष तथा पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीका पूर्व अध्यक्ष पे्रम न्यौपानेले पेट्रोलयम व्यवासायी सडकमुी भएको बताउंदै अहिले जताततै सडक विस्तार गर्दा व्यवसायी विस्थापित हुने अवस्था आएकाले राज्यलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।
पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता र महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

उक्त साधारण सभामा एसईईमा उत्कृष्ट हुन सफल भएका पेट्रालियम व्यवसायीका छोराछोरी र सहयोग दातालाई सम्मान गरिएको छ । कार्यलय सचिव अर्जुन बस्यालका अनुसार व्यापार कर्पोरेशन बुटवलका अध्यक्ष स्व. देददास मानन्धरको परिवारलाई पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवलले रु १ लाख आर्थिक सहयोग गरेको छ ।