चिसोले जनजीवन प्रभावित,मर्चवारीमा स्कुल बन्द

बुटवल, माघ ३ गते । तराई क्षेत्रमा बाक्लो हुस्सुसहितको चिसो बढेको छ । चिसोले जनजीवन कष्टकर बनेको छ । केही दिन यतादेखि तराई क्षेत्रमा बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बांके, बर्दिया लगायतका तराईका जिल्लामा बढेको चिसोले जनजीवन प्रभावित भएको हो । शीतलहरका कारण सबैभन्दा बढी विपन्न समुदाय प्रभावित भएको छ । शीतलहरले मानव जनजीवनसंगै पशुचौपाय र बालीनालीमा असर पुगेको छ । सडकमा हिड्ने पैदलयात्री पनि कम देखिन थालेका छन् । भने सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून देखिन थालेको छ । झण्डै दुई सातादेखि शतिलहरका कारण बढेको चिसो कायमै छ ।

शितलहरका कारण विपन्न समुदायलाई दैनिक गुजारा चलाउन समस्या परेको छ । चिसोका बिरामी बढ्न थालेका छन् । शीतलहर बढेपनि विगतका वर्षमा दाउरा र न्यानो कपडा वितरणहुंदै आएपनि यसवर्ष स्थानीय तहहरुले अहिलेसम्म दाउराको व्यवस्था गरेका छैनन् ।

विपद् व्यवस्थापनका लागि भन्दै हरेक पालिकाले प्रतेक वर्ष कोषमा रकम विनियोजन गर्दै आएका छन् । विनियोजित रकमबाट आवश्यक सामग्री खरिद गरी पूर्वतयारीका कार्यक्रम गर्न जिल्लाका स्थानीय तहहरुले कुनै चासो दिएका छैनन् ।
रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बांके, बर्दिया जिल्लाका स्थानीय तहहरुसंग विपद्ले कति जनसंख्या प्रभावित हुन्छन् भन्नेसमेत यकिन तथ्यांक छैन ।

 

     मर्चवारीमा स्कुल बन्द

अत्याधिक चिसो बढेपछि रुपन्देहीको मर्चवारी गाउंपालिकाले गाउँपालिकाभित्र सञ्चालित विद्यालय दुईदिन जाडो विदा दिएको छ । अत्याधिक जाडोका कारण प्रतिकूल असर पर्ने भएकाले त्यसलाई मध्येनजर गर्दै माघ ४ र माघ ५ गतेका लागि सामूदायिक विद्यालयहरुमा विदा दिइएको गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले जानकारी गराएका छन् । अध्यक्ष बरईका अनुसार दुईदिन वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको हो । चिसो बढेपछि विद्यालयमा विद्यार्थीको संख्या घट्न थालेपनि विदा गरिएको हो ।