वेवारिसे शिशुको हक दावीका लागि १५ दिने सूचना

बुटवल, माघ २३ गते । प्यूठान नगरपालिका जुम्रीमा बेवारिसे अवस्थामा भेटिएकी शिशुलाई जन्म दिने आमाको पहिचान हुन सकेको छैन । यही माघ १७ गते बिहान जुम्री बजारमा रहेको छायां भण्डारीको बाख्राको खोरमा रोइरहेको अवस्थामा शिशु फेला पारिएको थियो ।

शिशु तथा छोरी रोइरहेको अवस्थामा बाख्रा बाद्न ठाउंमा भेटाएपछि तत्काल प्रहरीलाई खबर गरी प्रहरीले स्वास्थ्य चेकजांचका लागि प्यूठान जिल्ला अस्पतालमा लगेको थियो ।

अहिले उक्त शिशुको अवस्था सामान्य छ । उक्त नवजात शिशुलाई जन्म दिने आमा वा अरु हकदावी गर्ने कोही नआएपछि प्यूठान नगरपालिकाको स्थानीय बालअधिकार समितिले सूचना प्रकाशित गरी हक दावीका लागि १५ दिने सूचना जारी गरेको छ ।

प्यूठान नगरपालिकाको स्थानीय बालअधिकार समितिको अगुवाईमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन र मानव अधिकारकर्मीको सहभागितामा बैठकले १५ दिन भित्र नवजात शिशुको हक दावीका लागि १५ दिन भित्र सम्पर्क गर्न भनी सूचना जारी गरेको छ । १५ दिन भित्र हक दावी गर्न कोही नआएमा कानुन बमोजिम शिशुको पालपोषणका लागि जिम्मा लगाइने प्यूठान नगरपालिका पव्रशासकीय अधिकृत नारायाण प्रसाद भण्डारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शिशुको अहिले स्थानीय बालअधिकार समितिको निगरानीमा जिल्ला अस्पिताल प्यूठानमा राखिएको छ । मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ९ दफा १९१ को २ (क) र (ख) अनुसार वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको शिशुलाई “अनाथ नावालक“ भनेको छ। त्यस्ता वालकलाई धर्मपुत्र वा धर्मपुत्रीका रुपमा दिन सकिने व्यवस्था छ । कानुनको दफा १७१ अनुसार छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न पाउने छैन ।

कानुन अनुसार पहिले नै छोरी हुनेले यी शिशुलाई धर्मपुत्री वनाउन मिल्दैन ।कानुनको दफा १७१ को ३ अनुसार छोराछोरी भएका व्यक्तिले धर्मपुत्रपुत्री लिन चाहेमा पालनपोषण, स्वास्थ, शिक्षा, वा हेरचाह गर्न सक्ने आर्थिक हैसियत खुलाई सम्वन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ । अदालतले त्यस्तो निवेदकको धर्मपुत्रपुत्री राख्ने हैसियत रहेको देखिएमा अनुमती दिन सक्नेछ ।

हाल वालवालिका सम्वन्धी ऐन, २०७५ तथा नियमावली २०७८ वमोजिम स्थानीय बाल अधिकार समितिको निर्णय वमोजिम प्युठान नगरपालिकाले निज शिशुका वुवाआमालाई आफ्नो छोराछोरी हो भनेर हक दावी गर्न १५ दिनको म्याद दिएको छ ।