राप्रपाका लुम्बिनी सांसद निलम्वन

बुटवल, फागुन १२ गते । लुम्विनी प्रदेश सभाले राप्रपा सांसद जानकीप्रसाद यादवलाई निलम्वन गरेको छ। कपिलवस्तु क्षेत्र नं. ३ क बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा बिशेष अदालतमा मुद्धा दायर गरेपछि सांसद यादव स्वतः निलम्वनमा पर्नुभएको हो ।

निलम्व गर्न अख्तियारले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेपछि प्रदेशसभाले आज एक सूचना प्रकाशीत गरी निलम्वन गरेको जनाएको हो। यादवलाई कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपक अख्तियारको छ। लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेको अवस्थामा मुद्धाको किनारा नलागेसम्मको लागि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कुनैपनि अदालतमा दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था गरेको छ। सोही ब्यवस्था बमोजिम प्रदेशसभा सदस्य सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ले गरेको ब्यवस्था बमोजिम उनलाई निलम्वन गरिएको प्रदेशसभा सचिवालयले जारी गरेको सुचनामा उल्लेख छ।
अख्तियारले यादवबिरुद्ध विशेष अदालतमा दायर भई विचाराधीन अवस्थामा रहेकोले मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था कार्यान्वयन गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।

प्रदेशसभा सदस्य यादव गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष रहंदा उक्त बनको काठ काटेर नापजांच र मुल्यांकन भन्दा कम देखाई बेचबिखन गरेको आरोप लागेको थियो। अख्तियारले यादवसहित उक्त काठ कटानको ठेक्का स्वीकृत गर्ने, ठेक्का लिने तथा कटान गर्नेसमेत १९ जनाउपर भ्रष्टचार मुद्धा दायर गरेको छ। उनीहरुमाथि सामुदायिक वन व्यवस्थापन समिति र कर्मचारीसँगको मिलेमतोमा काठ लुकाएर स–मिलमा बिक्री गरी २९ लाख १२ हजार १९३ रुपैयां भ्रष्टाचार गरेको आरोप लागेको छ ।