बुटवलमा बधशाला सञ्चालनको तयारी

बुटवल, फागुन १४ गते । बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालन गर्न सबै क्षेत्रलाई कारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्था अनुसार मासु बधशाला सञ्चालनको तयारी छ ।

सोमबार मासुसंग सम्बन्धित सरोकारवालासंग भएको छलफलमा नगर प्रमुख खेलराज पाण्डेयले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई ध्यानमा राखेर बधशाला सञ्चालन गर्न लागिएको बताए । बधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित हुने र बुटवलबाहिरका शहरमासमेत मासु बिक्री गर्न सकिने प्रमुख पाण्डेयले बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका कतिपय पशु बधस्थल र मासु पसलहरु अत्यन्तै दुर्गन्धित रहेको बताउंदैै बधशाला सञ्चालनपछि उपभोक्ताले हानिकारक मासु उपभोग गर्न नपर्ने बताइन ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवल उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारका पशु बधशाला, मासु सम्बन्धि कानुन बमोजिम बधशाला सञ्चालनको तयारी भएको बताए । कानुन अनुसार बधशाला सञ्चालन हुने भएकाले नियम अनुसार बधशालामा लगेर बध गरी प्रशोधन गरेको मासु मात्रै बिक्री गर्न मासु व्यवसायीलाई आग्रह गरे ।

मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका उमेश आचार्यले बधशाला सञ्चालनका लागि आवश्यक उपकरण जडान भइरहेको र पूरा हुनेवित्तिकै सञ्चालन हुने बताए ।

बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टकवीच सम्झौता भएको छ । भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयंँ बुटवल उपमहानगरपालिकालाई बुझाउने गरी ५ वर्षका लागि सम्झौता भएको छ ।

पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको हो ।बुटवलको रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको छ ।