लागु औषधसहित कपिलवस्तुमा ५ जना पक्राउ

बुटवल, फागुन १४ गते। कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेशसहित प्रहरीले ५ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग धनियावास गाउंपालिका वडा नं. ५ बस्ने सेतीतामाङ्ग, सोही स्थानका रेगदोन तामाङ्ग, साङ्ग जोम तामाङ्ग पक्राउ परेका छन् ।

यसै गरी सल्यान सिद्ध कुमाख गाउंपालिका वडा नं. ४ का थलबहादुर रोका, रुकुम भूमे गाउंपालिका वडा नं. २ की भावना बुढा पक्राउ परेका छन् । पक्राउ परेका सेतीको साथबाट ५ किलो ५ सय ५५ ग्राम, रेगदोनको साथबाट ५ किलो ३ सय ६५ ग्राम र साङ्ग जोमको साथबाट ५ किलो ४ सय ८० ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ । यसै गरी प्रहरीले थलबहादुरको साथबाट ४ किलो ६ सय १५ ग्राम र भावना बुढाको साथबाट ३ किलो ५ सय ४५ ग्राम गरी २४ किलो ५ सय ६० ग्राम चरेश बरामद गरेको छ ।

पक्राउ परेका ५ जनालाई जिल्ला अदालतबाट लागू औषध ओसार पसारको आरोपमा म्यादथप गरी थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी गराएका छन् ।
नेपालबाट भारततर्फ चरेश लैजाने र भारतबाट नेपालमा ब्राउन सुगर ल्याउने काममा लागू औषध कारोवारीहरु सक्रिय छन् । लागू औषधको जालो तोड्न सीमा क्षेत्रका सवै नाकामा निगरानी बढाएको प्रहरीले बताएको छ ।