बुटवलमा ललितकला प्रदर्शनी

बुटवल, फागुन २० गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले रुपन्देहीको बुटवलमा ललितकला प्रदर्शनी गर्ने भएको छ । लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी यही फागुन २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने छ ।

ललितकला प्रदर्शनीको सह– आयोजकका रुपमा नेपाल व्यवसायिक कलाकार संघ रहेको छ । ललितकला प्रदर्शनीबारे जानकारी गराउन आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपाल प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं प्रदर्शनी कार्यक्रम संयोजक प्राज्ञ दिनेश्वर महतोले बुटवलमा कलामा जागरण ल्याउन बुटवलमा ललितकला प्रदर्शनीको आयोजना गरिएको बताए ।
सामाजिक रुपान्तरण ललितकलाको अभियान भन्ने नारालाई अघि सार्दै रैथाने कला, सीप र ज्ञानको उजागर गर्न ललितकलाको संरक्षण तथा प्रबद्धर्नका लागि बुटवलमा ललितकला प्रर्दशनी गर्न लागिएको बताए ।

लुम्बिनी प्रदेशको १२ जिल्लाका १ सय २४ जना कलाकारले २ सय कलाकृतिलाई प्रदर्शन गर्ने लुम्बिनी प्रदेशका सदस्यसचिव एचबी रम्तेलले बताए ।
कला, साहित्य, संस्कृति,धर्म,संस्कार, जातजाती र भाषा झल्किने ऐतिहासिक कलाकृतिलाई समावेश गर्नका लागि प्रदर्शनीको आयोजना गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताए ।फागुन २२ गते लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले उक्त लििलतकला प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

प्रतिष्ठानले प्रादेशिक प्रर्दशनीमा छनौट भएका प्रतियोगी कलाकृतिलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिने छ । त्यस्तैगरी उत्कृष्ट प्रादेशिक ललतिकला पुरस्कार, प्रादेशिक ललितकला विशेष पुरस्कार,उत्कृष्ट विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारलगायत विभिन्न विद्यामध्येबाट १ जनालाई ५० हजार, चित्रकला विद्यामा परम्परागत चित्रकला र समसामयिक चित्रकला, परम्परागत लोक मूर्तिकला, आधुनिक मूर्तिकला, शिल्पकला, हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विद्याका विजेतालाई ३० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रदर्शनीबाट छानिएका कलाकृतिलाई २०८१ जेठ १५ गते राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराई सातै प्रदेशबाट छानिएका कलाकृतिबीच प्रतिस्पर्धाका आधारमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विद्यागत उत्कृष्ट बन्नेलाई ६० हजार नगद पुरस्कार र सम्मान गरिनेछ । त्यस्तैगरी प्रदर्शनी सम्पन्न गर्न संयोजक प्राज्ञ दिनेश्वर महतोको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति, ५ सदस्यीय कार्यकारी समिति,९ वटा उपसमिति गठन गरिएको छ ।

ललितकला प्रदशनीमा कवि गोष्ठी, कलाकारहरुका बीचमा कला सम्बन्धी अन्तरक्रिया र विभिन्न विद्यालयका बालबालिकाबीच चित्रकला कार्यशाला गरिने नेपाल आर्ट एशोसियशन रुपन्देही अध्यक्ष दिलीप रसाइलीले जानकारी गराएका छन् ।