एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन

बुटवल, फागुन २८ गते । रुपन्देही तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला उद्घाटन गरिएको छ । सोमबार विशेष सामारोहको आयोजना गरी रंगशालाको उद्घाटन गरिएको हो । तिलोत्तमा १७ दरखसवामा निर्माण गरिएको क्रिकेट रंगशालाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ब्याटिङ र एक्स्ट्राटेक ओभल प्रालिका निर्देशन बिनोद कुवंरले बलिङ गर्दै उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले सरकारले गर्न नसकेको काम नीजि क्षेत्रले गरेको भन्दै कमाउने मात्र होइन समाजमा लगानी पनि गर्नुपर्ने बताए । यो खेल मैदानले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने बताउंदै खेल मैदा र खेलाडीको विकासका लागि आफुले सरकारको तर्फबाट सहयोय पुराउने आश्वासन दिए ।
एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री बिष्णु पौडेलले क्रिकेट रंगशालासम्म पुग्नका लागि प।राकिलो सडक र सडक, पानीलगायतका आवश्यक पूर्वाधारका लागि आफुले गर्ने भन्दै यो जिम्मा मेरो भयो उनले भने ।

उक्त उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु छविलाल बिश्वकर्मा, चन्द्र भण्डारी, गोकर्ण बिष्ट, बासुदेव घिमिरे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनसिंह लगायतले बोल्दै नीजि क्षेत्रको लगानीबाट बनेको क्रिकेट मैदानले क्रिकेटको विकासमा टेवा पुग्ने बताउंदै आआफ्नो ठाउंबाट सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् ।

अष्ट्रेलियामा सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्दै आएका गुल्मीका बिनोद कुवंर र उनकी श्रीमती सुदिक्षा गौतमले नीजि लगानीमा तिलोत्तमा १७ दरखसवामा क्रिकेट रंगशाला निर्माण गरेका हुन् । गत जेठ ३० गते शिलान्यास गरिएको रंगशाला नौ महिनामा खेल खेल्न मिल्नेगरी तयार गरिएको छ । मैदानका लागि आवश्यक संरचना बनाउन बांकी रहेपनि खेल्नका लागि मैदान तयार गरिएको छ ।

पहिलो चरणमा पांच बिगाह जग्गामा निर्माण गरिएको रंगशालामा अहिलेसम्म साढे ६ करोड बढी खर्च भईसकेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुवरले जानकारी बताएका छन् ।
एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुवरका अनुसार मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुंदा ४० करोड खर्च हुनेछ । प्यारपिटका लागि मात्र करिब १८ करोड खर्च लाग्ने अनुमान गरिएको छ । करिब २५ हजार दर्शक क्षमताको रंगशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुवंरको लक्ष्य छ ।