बुटवल उपमहानगर सर्वोत्कृष्ट, नगरवासीलाई नगर प्रमुखद्दारा धन्यबाद
बुटवल, फागुन ३० गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७९÷८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भइ म्युनिसिपल एक्सिलेन्स अवार्ड पाएको हो । स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका ९५ प्रतिशत अंक प्राप्त गर्दै सर्वोत्कृष्ट भएको हो ।
नेपाल नगरपालिका संघले बुटवल उपमहानगरपालिकालाई उक्त अवार्ड प्रदान गरेको हो । काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।
काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो । तीमध्ये बुटवलले स्थानीय आर्थिक विकासतर्फ देशका सबै स्थानीय तहलाई उछिनेको हो ।
बुधबार उपमहानगरपालिकामा कार्यक्रमको आयोजना गरी नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबासीलाई बधाई तथा धन्यवाद दिएका छन् । नगर प्रमुख पाण्डेयले बुटवलबासीको साथ, सहयोग र समर्थनमा बुटवल उत्कृष्ट हुन सम्भव भएको भन्दै धन्यवाद दिए । नगरप्रमुख पाण्डेयले बुटवलले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरिहेको बताए ।
देशकै उत्कृष्ट नगरका रुपमा पुरस्कृत हुंदा थप कामका लागि हौसला थपिएको बताउंदै नगरप्रमुख पाण्डेयले भने – बुटवलमा विकास र परिवर्तनको यात्रा शुरु भएको मात्र होईन विकासको स्पष्ट मार्ग चित्र पनि देखिन थालेको छ ।
नगरलाई उत्कष्ट बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दललगायत सबैलाई नगर प्रमुख पाण्डेयले धन्यवाद दिएका छन् । नगरप्रमुख पाण्डेयले बुटवललाई देशकै अगुवा सहरका रुपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएको बताए । त्यस्तै बाआमासंग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपांगता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जांच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरणलगायतका कार्यक्रम नागरिकको घरदैलोमै पु¥याइएको पाण्डेय दावी गरे ।
बुटवललाई सबै क्षेत्रमा अब्बल बनाउन प्रयत्न भैरहेको बताउंदै बुटवलबासीको चाहना र आवश्यकतालाई प्राथमिकता दिएको उनले बताए । बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन,रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिए । मुख्य कार्यभार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने, चालु योजनालाई समयमै सम्पन्न गर्ने, बुटवलवासीलाई सुशासन र विकासको अनुभूति दिलाउने मुख्य काम भएको नगर प्रमुख पाण्डेयले बताए ।