लुम्बिनीमा कुखुरा पालनमा साझेदारी

बुटवल, चैत्र १ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगले लुम्बिनी प्रदेशमा कुखुरा पालन परियोजनाका लागि साझेदारी गरेको छ । बुधबार साझेदारी कार्यक्रमको शुभारम्भसमेत गरिएको छ ।

कृषि तथा सम्बन्धित क्षेत्रका सरोकारवालालाई एक साथ ल्याएको यस कार्यक्रमले नेपालको कुखुरा पालन उद्योगको सफलताका लागि महत्वपूर्ण योगदान रहने अपेक्षा छ ।
नेपाली कम्पनी श्रीनगर एग्रीटेकद्वारा कार्यान्वयन गरिने २० लाख अमेरिकी डलरको तीन वर्षीय युएसएआईडी परियोजनाले कुखुरा पालन बजार प्रणालीलाई बलियो बनाउ सात हजार साना किसान तथा व्यवसायको आयमावृद्धि गर्न सघाउने सरोकारवालाहरुले विश्वास गरेका छन् ।

कुखुरापालन उद्योगले आर्थिक वृद्धिलाई चलायमान बनाउँदै अत्यावश्यक रोजगारी, आय, खाद्य सुरक्षा र पोषण प्रदान गर्ने भएकाले नेपालमा यो उद्योग महत्वपूर्ण रहेको छ । नेपालको ग्रामिण अर्थतन्त्रमा कुखुरापालनले विशेष गरी महिला तथा सीमान्तकृत समूहलाई स्वरोजगारका अवसरहरू प्रदान गर्दछ । त्यस्तैगरी कृषि तथा पर्यटन जस्ता प्रमुख क्षेत्रलाई सम्बोधन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहित यस स्थानीय जनप्रतिनीधिको उपस्थितिमा उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा उत्कृष्ट करार कृषकलाई सम्मानका साथै युएसएआईडीको परियोजनामार्फत कुखुरा पालन किसान तथा व्यवसायका लागि उपलब्ध उन्नत सेवाको प्रदर्शन गरिएको थियो ।
युएसएआईडी÷नेपालका कार्यवाहक निर्देशक कारेनवेल्शले परियोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरण गरी नीजि क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने बताए ।

 

अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसनमिक्सले नेपालमा उत्थानशील तथा दिगो कृषि उद्योग निर्माण गर्न युएसएआईडीको साझेदारीको भूमिका र देशभरका समुदायका लागि सुधारिएको खाद्य सुरक्षा तथा पोषणमा त्यस प्रकारको साझेदारीले गर्ने योगदानमाथि जोड दिए ।
सन् २०११ देखि हालसम्म युएसएआईडीले १८ करोड १० लाख अमेरिकी डलर बढी लगानी गरी आठ लाख भन्दा धेरै नेपालीलाई सहयोग गरेको छ ।