ठुली छोरी मरी, उज्यालो तारा गुम्यो

फार्मले उज्यालो तारा गुमायो !
मलाई आफ्ना दुखः पीडा र खुशी पनि देखाउन मन लाग्दैन । हामिलाई अफ्ठेरो पर्दा खुच्चिङ भनेर साप्रा ठटाउनेहरु नै धेरै छन् भन्ने धेरै राम्रोसँग बुझेको छु । तर, राम्रो, नराम्रो, सुख जस्तो वा दुख जस्तो मैले जे कुरा पोष्ट गर्छु, त्यसले अरु पनि खास कसैलाई काम लाग्छ की भनेर गर्ने हो ।

“ठुली“ बेनी, म्याग्दिमा जन्मेकी हो । देशभर मैले देखे जाने र खोज्दा भेटे अनुसार “ठुलि“ राम्रो गुणस्तर र सम्भावना लिएर जन्मेकि थिई । मैले त्यसलाई ल्याउने विचार गरेँ र करिव डेढ वर्ष पहिले “ठुली“ र अर्की “सानी“ पनि २ बहिनी ल्याएँ ! डेढ वर्ष मसँग बसी ।

सामान्यतः राती ११ बजे मैले एकपल्ट सबैको अवस्था हेरेर सुत्छु र विहान ४ बजे भन्दा पहिले नै सबै सुतेको ठाउँमा पुग्छु । केही व्याउने अवस्थामा थिए । राति ३.४५ तिरै अर्काे खोरकि एउटि व्याई । ठुली अबको ९ दिनमा व्याउनु पर्ने हो । ५–७ दिन तल–माथि हुने सम्भावनाप्रति पनि ध्यान राखिएकै हुन्छ ।
“ठुली“ को एउटा स्वभाव थियो कि उ कस्तै अवस्थामा पनि चर्काे स्वरले कराईन । केही गुनासो भएपनि नजिकै भएको बेला सानो स्वरले बोल्दथि÷ कराउँथी ।
उसमा खास कुनै प्रजनन् समस्या आएको देखियो ! कराउन कोशिस पनि गरि कि…… तर मैले सुनिन, थाहा पाईन ! बच्चा जन्माउन बल गर्दा गर्दै उसले आफ्नो प्राण त्यागी……….! मैले चिरफार गरेर हेर्ने आँट र विचार गरिन ।

आज म भन्दा ठुलो पिडामा “सानी“ छ । म पुग्दा मरिसकेकि दिदिसँगै टाँसिएर बसेकि थिई । उसले फेसवुक चलाउदिन र पोष्ट पनि हेर्दिन……. मैले उसलाई समाल्ने कोशिस गर्नुछ ।
यस्ता जटिलताहरु फेरीपनि र अरुलाई पनि आउन सक्छन् । यसको कसरी निरन्तर सूक्ष्म निगरानि गर्न सकिएला, कस्तो प्रविधि प्रयोग गर्न सकिएला । मैले त्यो उपाय र विकल्प खोज्नु छ । कसैले सके, जाने, अनुभव भए सुझाउन सक्नुहुन्छ ।
प्रेमसागर पौडेल