वन बाटिकामा बाबुराम स्मृति पार्क बन्ने


बुटवल, चैत ४ गते । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा संस्थापक अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा बाबुराम स्मृति पार्क बन्ने भएको छ । वन बिहार तथा अनुसन्धान केन्द्र वनवाटिका परिकल्पकार स.स्थापक अध्यक्ष स्व. अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा १० करोड लागतमा वातावरणमैत्री पार्क (उद्यान) बनाउने निर्णय भएको छ ।

२० वर्षअघिसम्म कांडे झाडी र खुला शौच गर्ने स्थान रहेको वन क्षेत्रलाई अर्यालकै परिकल्पनामा पर्यटकीय स्थल बनाउन शुरु गरिएको थियो । २०६२ सालमा उद्घाटन भएपछि अर्यालको नेतृत्वमा अहिले वनवाटिका रुपन्देहीको प्रमुख पर्यटकीय गन्तब्यमध्ये एउटा आकर्षक थलो बनेको छ ।अर्यालले वनवाटिका बनाउन गरेको योगदानको कदर गर्दै स्मृतिमा चीर स्थायी बनाउन भ्यु टावर नजिकै २ बिघा जग्गामा स्मृति पार्क बनाउन शिलान्याश गरिएको छ ।
शनिबार लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले पार्कको शिलान्याश गर्नुभएको हो । सो अवसरमा बोल्दै सांसद घिमिरेले बनवाटिका बनाउन स्वर्गीय अर्यालको अनुकरणीय योगदानलाई सम्झना गर्दै सबै क्षेत्र जुट्नु पर्ने बताउंदै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्दता जनाइन् ।

केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बाह्य वजेट प्राप्त भएमा छिटै नभए आन्तरिक वजेटबाट ५ वर्षभित्र पार्कभित्रका सबै संरचना पूरा गर्ने लक्ष्य रहेको बताए । स्मृति पार्कले एकातिर संस्थापक अध्यक्ष अर्यालको सम्झना र योगदान भावी पुस्तासम्म रहिरहनेछ भने पर्यटकलाई पनि आकर्षण थप्ने अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा अर्यालका समकालीन व्यक्तित्वहरु मदनलाल पौड्याल,देवीप्रसाद पाण्डे, केन्द्रका सल्लाहकार मोहन चापागाई, नेकपा एमालेका नेता राम गिरी, केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा, उपाध्यक्ष खिमलाल पाण्डे,सचिव फर्शुराम भण्डारी,स्वर्गीय अर्यालकी बहिनी शारदा अर्याल, केन्द्रका अनुगमन समिति सदस्य टेकबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधिलगायतले अर्यालको परिकल्पना र मेहनतका कारण वनवाटिका पर्यटकीय क्षेत्रको रुपमा विकास हुंदे गएको बताए । स्मृति पार्कमा आर्क ब्रिज (आधुनिक डिजाइनको पुल),भुलभुलैया बंगैचा,सेल्फी जोन, बच्चाका लागि डुंगा चलाउन मिल्ने पोखरी र माछा पालन पोखरी बनाउने गरी डिपीआर बनेको छ ।






















