किर्ते हस्ताक्षर गर्नेलाइ कारवाही – नगर प्रमुख थापा

अर्घाखांची ,चैत ६ गते । अर्घाखांची भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले केही अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिकालाई बदनाम गराउन खोजेको बताएका छन् । भूमिकास्थान नगरपालिकाले वडा नम्बर ९ ढिकुराको सानोडेभाको चुनढुंगा उत्खनन्मा रोक लगाईएको थियो ।

भूमिकास्थान नगरपालिकाले पत्रकार सम्मेलन गरी नगर प्रमुख झविलाल थापाले सोही खानीका सन्दर्भमा नगरपालिकाले चुनढुंगा उत्खननका लागि विजया सिमेन्टलाई सिफारिस पत्र नदिएको बताए । तर मेरो किर्ते हस्ताक्षर गरी नगरपालिकाबाट जारी भएको भनी कागजात तयार गरेर सामाजिक सञ्जालमा गलत प्रचार– प्रसार गरिएको बताउंदै आफुले उक्त पत्रमा हस्ताक्षर नगरेको नगर प्रमुख थापाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख थापाले उक्त स्थानमा चुनढुंगा उत्खनन गर्नै नहुने भनी कार्यपालिका बैठकले निर्णय गर्दा पनि उत्खनन हुने स्थान सम्मको लागि बाटो खन्ने कार्य गर्नु कानुन र नीतिलाई नटेरेको ठहरिने भन्दै उहांले कुनै पनि हालतमा उत्खनन गर्न नदिने बताए ।

नगर प्रमुख थापाले किर्ते हस्ताक्षर र कागजात तयार गरी सरकारी कागजातको दुरुपयोग गर्ने सम्बन्धित व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याई कार्वाही गर्ने बताए ।
किर्ते सिफारिस मार्फत विजया सिमेन्टले प्राप्त गरेको चुनढंगा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरी भूमिकास्थान नगरपालिकालाई जानकारी उपलब्ध गराउन खानी तथा भुगर्भ विभागलाई पत्रचारसमेत गरेको नगरप्रमुख थापाले बताए ।

कार्यपालिका बैठकले गरेको निर्णय उल्टाउन नमिल्ने र उक्त स्थानमा चुनढुंगा उत्खनन् सम्भवन छैन उनले भने । नगर प्रमुख थापाका अनुसार किर्ते हस्ताक्षर गरेर कसले पत्र बनायो त्यस विषयमा अनुसन्धान शुरु भएको छ ।