बदल्ने छु समाज

जीवनदीप प्रकृति

बाबा : बाह्र पास भयौ छोरी अब बिहे गर है,

नगुमाउँ की खानदानी राम्रो घर है ।।

छोरी : पहिले जस्तो कहाँ छ र अहिलेको जवाना,

पढ्दा पढ्दै विहे गर्ने छैन् चाहना ।।

बाबा : राम्रो घर बारम्बार के आउलार घुमेर,

पढाइमा नै गइ जान्छ आधा उमेर ।।

छोरी : भविष्यलाई विर्सिएर घरबार जोड्दिन,

असल बाटो हिड्छु बाबा वचन तोड्दिन ।।

बाबा : पढाइ पनि दाइजो पनि के सकुँला दिनलाई,

के गरेर तिरौँला खै साहुको ऋणलाई ।।

छोरी : दाइजो होइन चाहिएको छ शिक्षा आज छोरीलाई,

स्वावलम्बी बन्ने छु म जीवन भरीलाई ।।

बाबा : गरिवीले थिचेको छ केही छैन् आधार,

सुरक्षा नि छैन छोरी न त रोजगार ।।

छोरी : बा आमाले साथ दिए मान्ने छैन मैले हार,

बदल्ने छु समाजलाई ल्याएर नयाँ विचार ।।