लुम्बिनीमा अब अनलाईन टिकेट

लुम्बिनी, चैत १० गते । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरिएको छ । अनलाईन टिकेटिङ प्रणालीको शुभारमभ भएसंगै अब टिकट लिनका लागि लाइनमा बस्नु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शनिबार अनललाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन ।
उक्त उद्घाटन कार्यक्रममम बोल्दै मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाईन मार्फत टिकेटिङ गर्ने कार्यले लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकलाई सहज हुने बताए । इटिकेटिङले कुनैपनि प्रकारको अनियमितता नहुने र आर्थिक पारदर्शी हुनुका साथै लाइनमा बस्नु पर्ने बाध्यताको अन्त्य हुने मन्त्री तामाङले बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्यला लामा (खेन्पो छिमे) ले अनलाईन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकको संख्यावृद्दि हुने बताउंदै अनलाइन टिकेटको व्यवस्थापनि उचित रुपले गरिने बताए । लामो लाईन लागेर टिकट लिनुपर्ने वाध्यता अन्त्य गरी पर्यटकलाई सहज बनाउने उनले बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले पर्यटकलाइ लाईन लागेर टिकट काट्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । मायादेवी दर्शनसँगै बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि अनलाईन टिकेटिङले कोषको आम्दानीमा समेतबृद्धि हुने कोषाध्यक्ष भट्टराईले बताए ।

लुम्बिनी विकास कोषको वेवसाईट डब्लु डब्लु डब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ । मुख्यगरी विदेशीहरुले यसको उपयोग गर्ने कोषको विश्वास छ । उद्घाटन समारोहमा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, विश्वराज पौडेल, राजेश शाक्य, श्याम रोक्का, परिषद सदस्य गोपिकृष्ण शर्मा लगायतको सहभागिता थियो ।

निकट भविष्यमा बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमणका लागि नेपालीलाई न्यूनतम शुल्क लिने गरी अनलाईन टिकेट विकास गर्दै लगिने कोषको योजना रहेको छ ।