पहाडी क्षेत्रमा होलीको हर्षोल्लास

बुटवल, चैत ११ गते । आज होलीको पहिलो दिन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज पहाडी जिल्लाहरुमा मनाईएको छ । पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको छ ।
वसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागू पर्व परम्परागत रुपमा एक आपसमा रङ लगाइ मनाउने गरिन्छ । तराई क्षेत्रमा भने होली पर्व भोली मनाउने गरिन्छ । होलीको अवसरमा विविध रङबाट रंगिएर बाजागाजासहित नाचगान गरी रमाइलो गर्ने गरिन्छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ बलिरहेको आगोमा पस्न लगाउंदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको होलीसंग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतिक बनेकी होलिमा मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको सन्दर्भबाट पनि होलीपर्व मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख छ ।