हर्षोल्लासका साथ मनाईयो होली

बुटवल, चैत १२ गते । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमबार तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईएको छ । आइतबार पहाडी जिल्लाहरुमा पनि हर्षोल्लासका साथ मनाईयो होली पर्व ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागू पर्व परम्परागत रुपमा विभिन्न रङ खेली मनाउने परम्परा छ । होलीको अवसरमा विविध रङबाट रंगिएर बाजागाजाका साथ नाचगान गरी रमाइलो गर्ने प्रचलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ बलीरहेको आगोमा पस्न लगाउंदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसंग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको सन्दर्भबाट पनि होलीपर्व मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

होली पर्वको अवसरमा सोमबार तराईका विभिन्न जिल्लाहरुमा हर्सोउल्लासका साथ मनाइएको हाम्रा संवाददाताहरुले बताउनुभएको छ । रुपन्देहीको बुटवल, भैरहवा, लुम्बिनी, देवदह, सैनामैना लगायतका क्षेत्रहरुमा खुसीयालीका साथ होली पर्व मनाइएको छ । रंगहरुको पवित्र पर्व होली नवलपरास, कपिलवस्तु, दाङ, बांके बर्दिया लगायतका तराईका जिल्लामा हर्षोल्लासका साथ मनाईएको छ ।

बालबालिकादेखि युवासम्म महिला पुरुष सबै मिली शुभकामना आदानप्रदान गर्दै एक आपसमा अविर खेलेर यो पर्व मनाइएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी, चाकरचौडा, मर्यादपुर लगायतका स्थानहरुमा जम्मा भै खुशीयाली साटासाट गरेका छन् ।
आपसी भाइचारा, सामाजिक सद्भाव बढाउने पर्वको रुपमा रहेको होलीका अवसरमा मधेसी, पहाडी दुवै समुदाय मिलेर एक आपसरमा रंग लगाउंदै होली पर्व मनाएका छन् ।