एसइई परीक्षा शुरु

बुटवल, चैत १५ गते । आजदेखि माध्यमिक शिक्षा तथा (एसइई) परीक्षा शुरु भएको छ । आज १५ गतेदेखि देशभर शुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डले बताएको छ । बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी भएका छन् ।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी भएका छन् ।

जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिंदै छन् ।जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ ।

जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी गराए ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । बैभन्दा कम मनाङ, मुस्ताङमा एक–एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १ सय २७ परीक्षा केन्द्र रहेका छन् ।
यस वर्षदेखि ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्ने हुन्छ ।
दुई वटा विषयमा ३५ भन्दा कम अंक ल्याएमा पुनः ग्रेडिङमा सहभागी हुन पाइने व्यवस्था गरिएपनि त्यसभन्दा बढी विषयमा कम अंक ल्याएमा पुनः ग्रेडिङमा सहभागी हुन नपाउने व्यवस्था छ ।