निसन्तान दम्पत्तिका लागि बुटवलमा ’आइयुआई’ सेवा

बुटवल, चैत १५ गते । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिको उपचार हुने भएको छ । निसन्तान दम्पत्तिको उपचार गर्न आधुनिक प्रविधि आइयुआई सेवा सञ्चालनमा आएको छ । उक्त मेशिनको विहिबार शुभारम्भसमेत गरिएको छ ।

काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।रुपन्देहीको सैनामैना निबासी ३१ वर्षीया महिलामा आइयुआई प्रविधि प्रयोग गरि सेवा शुभारम्भ गरिएको हो । विगत १ महिनादेखि उपचार गराईरहेकी ती महिलाको औषधी सेवन तथा उपचार पद्दतीबाट सन्तान प्राप्ति नहुने भएपछि आइयुआई पद्दती प्रयोग गरिएको हो ।

अस्पतालमा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बबिता थापाको नेतृत्वमा नयाँ उपचार सेवा सुरु गरिएको हो । डा. थापाका अनुसार महिलाको पाठेघर ठीक भएको अवस्था र पुरुषको शुक्रकीटमा समस्या भएमा सुरुमा आइयुआई विधि अपनाइन्छ । यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो । यो पद्दतीमा पुरुषको शुक्रक्रिटलाई सफा गरेर गुणस्तरीय बनाएर महिलाको पाठेघरमा राख्ने गरिन्छ । तर यो विधिको सफलता दर भने १५ देखि २० प्रतिशतमात्रै रहने गर्दछ । यो विधिबाट पनि बच्चा नभएकालाई आइभिएफ विधिमा जानू पर्ने उनी बताउँछिन । अस्पतालमा आइभिएफ प्रविधिको सेवा नभए पनि सरकारको योजना अनुसार यो सेवा समेत निकट भविष्यमै थप हुने उनले विश्वास गरिन् ।

डा. थापाका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २५० देखि ३ सय जनाले प्रसुती सेवा लिने गरेका छन् भने दैनिक ३० देखि ४० जना शिशुको जन्म हुने गर्दछ । यसै गरि दैनिक ८÷१० जना दम्पत्ति निसन्तानपनको समस्या लिएर आउने गरेका छन् ।

समयमै उपचारमा जान सके निसन्तानपनको समस्या कम हुने बताउंदै उनले भनिन् – ९० प्रतिशत समस्या औषधी सेवन तथा उपाचार पद्दतीबाट समाधान हुन्छ, भने १० प्रतिशत समस्या आइयुआई, आईभिएफ लगायतका प्रविधि प्रयोग गर्नुपर्ने हुन्छ । डा. थापाका अनुसार निसन्तान भएका करिब ६० प्रतिशतलाई आई.यु.आई.को सल्लाह दिइन्छ ।