बैंकहरुले मनोमानी ब्याजबृद्धि गरेर र मानसिक तनाव दिने गरेको  भन्दै भैरहवामा बिरोध

भैरहवा, चैत्र १९ गते । बैंक तथा बित्तीय संस्थाले मनपरी ब्याजबृद्धि गरेपनि सरकारले नियमन नगरेको र बैंकका कर्मचारीले घरघरमै आएर मानसिक तनाव दिने गरेको भन्लदै बैंकका ऋणीहरुले रुपन्देहीको भैरहवामा विरोध गरेका छन् । सोमबार भैरहवाको देवकोटाचोकबाट र्यालीसहित जिल्ला प्रशासनमा धर्ना दिएका छन् । साथै जिल्ला प्रशासनमार्फत् सरकारको ध्यानकर्षणसमेत गराएका छन् । बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति गठन गरेको उनीहरुले आफूहरुलाई बैंकले निकै नै ज्यादती गरेको र तनावका कारण कयौंले आत्महत्या समेत गरेको भन्दै माग सम्बोधनका लागि सरकारसँग आग्रह गरेका छन् ।

बैंक वित्तीय संस्थाको ब्याज एकल अंकमा झानुपर्ने, ऋणिहरुको घर लिलाम प्रक्रिया तत्काल बन्द गर्नुपर्ने, बैंक वित्तीय संस्थाका दलालहरु होसियार, बैंक सधैं नाफामा उद्योगी र सर्वसाधरण सधैं घाटामा, कोरोना कालको ब्याज मिनाह गर लगायतका प्लेकार्ड बोकेर र्याली सहित उनीहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागीले बैंकको साँवा र ब्याज तिर्न आफूहरु तयार भए पनि मनलाग्दी ब्याज बृद्धि र अप्ठ्यारो अवस्थामा समेत सरकार मुकदर्शक भएको आरोप लगाएका थिए । उनीहरुले बैंकले ८ प्रतिशतमा दिएको ऋणको ब्याज बृद्धि गरेर अहिले १६ प्रतिशतसम्म पुर्याएको र आर्थिक मन्दीले सबै क्षेत्रसायी हुँदासमेत बेवास्ता भएको गुनासो गरे । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जाहेज मागहरु सम्बोधनका लागि आफ्नो तहबाट हुने सबै सहयोग गर्ने जनाए । खासगरी माथिल्लो तहबाटै समस्याको समाधान गर्नुपर्ने भएकाले यसबारे आफूले सम्बन्धित निकायमा जानकारी गराउने अर्यालले बताए ।

संघर्षमा उत्रिएका व्यवसायी र सर्बसाधरणले बैंकका कर्मचारी साँवाब्याज असुल्न भन्दै घरमै आउने गरेको बताउँदै अवस्था यस्तै रहे प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन् । बैंकर्सहरुको क्रियाकलापले ब्यवसायी मात्र नभई घरका परिवारहरु पनि तनावमा रहने गरेको उनीहरुको गुनासो छ ।