लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव

लुम्बिनी, चैत २० गते । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विकास गर्दै शान्तिको सन्देश दिने उद्देश्यले यही चैत २३ र २४ गते दुई दिन अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम हुने छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएका हुन् ।

नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा दुई दिनको महोत्सव हुन लागेको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विश्व शान्तिको मुहान लुम्बिनीलाई प्रबद्र्धन गर्दै यहाँबाट विश्वमाझ शान्ति र अहिंसाको सन्देश दिन महोत्सव गर्न लागिएको जानकारी दिए । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका श्रेष्ठले यो कार्यक्रमले लुम्बिनीको महत्वलाई विश्वमाझ अझै परिचित बनाउन योगदान दिने विश्वास व्यक्त गरे । तीन वर्षअघि लुम्बिनीमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शुरुवात गरेका जनाउँदै उनले यसपटक भने अन्य थप कार्यक्रम समेटेर र संस्थाहरुको सहभागितामा महोत्सवकै रुपमा आयोजना गरेको बताए ।
लुम्बिनीसँग जोडिएको बुद्धका सन्देश र शान्तिभूमि ब्राण्डलाई विश्वमाझ प्रचार गर्न सके नेपालको आर्थिक विकास र समृद्धिमा ठूलो योगदान पुग्ने विश्वास आफूहरुको रहेको उनले सुनाए । आगामी दिनमा लुम्बिनीमा बौद्धकालीन खेलहरुलाई पनि समावेश गर्नुपर्ने आवश्यकता रहेको उनले जनाए ।

नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले लुम्बिनीको प्रबद्र्धनमा सहयोग पुगोस् भन्ने हेतुले आफूहरुले महोत्सवमा सहकार्य गरेको जनाए । लुम्बिनी शान्ति रहेको र यहाँको थप प्रबद्र्धन र विकास जरुरी रहेको उल्लेख गर्दै उनले चीन एउटा असल मित्रराष्ट्र भएकाले नेपाल र लुम्बिनीको प्रचार र विकासमा सधैं सहयोगी बन्ने जनाए । उनले चिनियाँ नागरिकका लागि लुम्बिनी एउटा उत्कृष्ट गन्तव्य रहेको जनाए । उनले लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा थप परिचित गराउने महोत्सवले भूमिका खेल्ने बताए । नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमले भूमिका खेल्ने उनको भनाई छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटकीय विकासमा महोत्सवले इँटा थप्ने जनाए । लुम्बिनी विश्वभर शान्ति, पर्यटन र बौद्ध धर्मको मुहान भनेर चिनाउन महोत्सव कोशेढुंगा सावित जनाउँदै उनले महोत्सव सफल पार्न सबै क्षेत्रले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिए । लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत चैत २३ गते बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणिराम लामिछानेले जानकारी दिए । भोलिपल्ट चैत २४ गते लुम्बिनी स्क्वायरमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुने छ । उसै दिन साँझ लुम्बिनी शान्ति कन्सर्ट आयोजना गरिएको छ । प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईका अनुसार त्यहाँ आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतले प्रस्तुति दिनेछन् ।

आयोजकका अनुसार म्याराथनमा पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटरको म्याराथन दौड हुनेछ । यस्तै, महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन हुनेछ । ५ किलोमिटरको रोड रेस र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन लगायतका खेलकुद कार्यक्रम पनि समावेश गरिएको छ । म्याराथन प्रतियोगिताको विजेताले ५ लाख पाउने छन् ।

कार्यक्रम सम्पन्न गर्न करिब २० लाख रुपैयाँ लाग्नेछ । म्याराथनमा नेपालसहित चीन, पाकिस्तान, श्रीलंका, केन्यालगायत देशका धावकहरु सहभागी हुनेछन् ।