लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा, माओवादीका जोखबहादुर मुख्यमन्त्री बन्ने निश्चित
बुटवल, चैत २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरालाई नयां मुख्यमन्त्री बनाउने सहमति भएपछि मुख्यमन्त्रीबाट धौधरीले बिहीबार राजीनामा दिएका हुन् । एमाले, माओवादी, नेकपा समाजवादी, जसपा लगायतका पांच दलले माओवादीका जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने गरी पांच बुंदे सहमति भएको छ ।
पदबाट राजीनामा दिएपछि चौधरीले राजनीतिक फेरबदलकै कारण आफुले राजीनामा दिने निर्णय सलिएको बताएका छन् । पुरानो गठबन्धन ढलेपछि नयां गठबन्धनमा कांगे्रसबाट मुख्यमन्त्री बनेका चौधरी अल्पमतमा परेपछि पदबाट राजीनामा दिन बाध्य भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता रहेका धौधरी ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
बिहीबार मुख्यमन्त्रीबाट डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरालाई नयां मुख्यमन्त्री बनाउनेसहित दलहरूबीच पांच बुंदे सहमति भउको छ ।
माओवादी, नेकपा (एमाले), जसपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेतले महरालाई मुख्यमन्त्री बनाउनेसहित सहमतिमा हस्ताक्षर गरेका छन् ।
संघीय सरकार बनाएको गठबन्धनका दलहरू लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका छन् । पांच दलबीच प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै राजनीतिक दल अपनत्व हुने गरी गर्नेलगायत सहमतिसमेत गरेका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुंदा अब भने ८६ सदस्य मात्रै छन् । लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जनता समाजवादीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्रबाट १ सांसद छन् । नागरिक उन्मुक्ति र जनमतका ४ जना सांसद छन । त्यस्तै, लोकतान्त्रिक समाजवादीका ३ सांसद छन । उनीहरूले पनि महरालाई समर्थन गर्ने बताइए पनि लिखित प्रतिबद्धता भने जनाएका छैनन् ।
लुम्बिनीमा कांग्रेसका २७ सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ सांसद छन । राप्रपाले यो सत्ता समीकरणमा सहभागिता नजनाउने निर्णय गरेको छ ।
एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले तटस्थ बस्ने निर्णय गरेको छ ।