भाषणले मुलुक बन्दैन – चन्द्र भण्डारी

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २३ औं साधारण सभा सम्पन्न

बुटवल, चैत २४ गते । नेपाली कांगे्रसका नेता डाक्टर चन्द्र भण्डारीले नेताहरु दुई जिब्रे भएकाले मुलुकमा विकास नभएको बताएका छन् । एउटो कुरा गरेर अर्को काम गर्ने हाम्रा नेता र नेतृत्वकै कारण मुलुक पछाडी परेको र गरिब जनताले राम्रोसंग खान लाउन नपाएको उनले बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न २३ औं वार्षिक साधारण सभामा बोल्दै नेतृत्वले जेमापनि अनावश्यक राजनीति गर्दा मुलुक बिगे्रको नेता चन्द्र भण्डारीको दावी छ । गुल्मी क्षेत्र नम्बर १ बा निर्वाचित सांसदसमेत रहेका भण्डारीले भने भाषणले मात्रै देश बन्दै बन्दैन । मुलुक बनाउने र जनतालाई खुशी बनाउने खालको नेतृत्वमा सोंच नभएकाले राजनीतिप्रति जनतामा वितृष्णा पैदा भएको उनले बताए ।

उनले मुलुक बनाउन त्याग गर्नुपर्ने उल्लेख गर्दै हाम्रा नेता र नेतृत्वका छोराछोरीले सुन बोक्न थालेपछि मुलुक बन्न नसक्ने बताउंदै उनले भने –गरिब जनता र साना तथा मझौला व्यवसायीको पक्षमा राज्य उभिन सकेन । पर्यटनदेखि सबै क्षेत्रका व्यवसायी बैंकको चर्को व्याजले लिलाम हुंदा पनि राज्य बोल्न सकेन । जसका कारण सबै क्षेत्र कमजोर भन्दै गएका छन् । यस विषयमा राजनीतिक नेतृत्व जिम्म्ेवार बन्नुपर्छ उनले भने । भ्रष्टाचार गरेकाहरुलाई जेल हालेमात्रै मुलुक बन्न सक्ने बताउंदै भ्रष्टाचार नगर्ने र जनताको पक्षमा काम गर्ने खालका नेता चिनेर मात्रै भोट दिन आग्रह गरे । मलाई गलत काम गर्न छुट नभएको र राजनीतिमा कहिल्यै गलत काम नगर्ने प्रतिवद्वता जनाए ।

होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष हिराध्वज शाहाले चर्को बैंकको व्याज र घरभाडाका कारण पर्यटन व्यवसायी विस्थापितको अवस्थामा पुगेको बताए । कोभिडको प्रभाव कम भएपछि देखा परेको आर्थिक मन्दीले पर्यटन व्यवसायी संकटमा पर्दापनि राज्य र राजनीतिक दलहरुले व्यवसायीका समस्या बुझ्न नसकेको पूर्व अध्यक्ष शाहाको भनाइ छ ।

सोही कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीले आर्थिक मन्दी चर्को घरभाडा बैंकको व्याज र कर नीतिका कारण व्यवसायी पेशाबाट विस्थापित हुनेक्रम बढेको गुनासो गरेका छन् । आर्थिक मन्दीले पर्यटन व्यवसायी संकटमा परेको अवस्थामा उचित राहात कार्यक्रम ल्याउन पर्यटन व्यवसायीको माग छ । राजनीतिक दलहरुले व्यवसाय मैत्री वातावरण सिर्जना गर्न नसकेको आरोप लगाउंदै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि हरेक क्षेत्रबाट बुटवल क्षेत्र कमजोर भएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, होटल व्यवसायी महासंघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, संघका पूर्व अध्यक्ष रामप्रसाद गौतम, संघका सल्लाहाकार विष्णु पोखरेल लगायतले बोलेका थिए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता, महासचिव अर्जुन थापाको सञ्चालन र संघका वरिष्ठ उपाध्यक्ष माधव खनालको स्वागतमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा अशक्त पर्यटन व्यवसायी लिलाधर बस्याल र कर्मचारी तथा व्यवसायीलाइ सम्मान गरिएको थियो ।