रविका ठगी छताछुल्ल

बुटवल, बैशाख ४ गते । सहकारीमा भएको अनियमितताको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको चौतर्फी आलोचना भएको छ । राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल र चोकचोकमा अहिले रवी लामिछानेको आलोचना भैरहेको छ ।

बुटवलको सुप्रीपक बचत तथा ऋण सहकारीबाट गहमन्त्री रवि लामिछानेको नामबाट प्रक्रिया पुरा नगरी २ करोड ऋण लिएको प्रहरकिो अनुसन्धानले देखाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयां भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको छ । गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो ।

गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो । टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा हालका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसंग १५ प्रतिशत शेयर रहेको थियो । गितेन्द्रबाबु र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको छ । बुटवलको सुप्रिम सहकारीको मात्र १४ करोड २९ लाख ३६ हजार रुपैयाँ टीभीमा लगानी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

मिति रकम (रु) को मार्फत
२०७७÷१०÷२८ दुई करोड ५० लाख छविलाल जोशी
२०७८÷०१÷०९ तीस लाख गोर्खा मिडिया नेटवर्क
२०७८÷०३÷२२ एक करोड तीन लाख ३६ हजार कुमार रम्तेल
२०७८÷०९÷१२ एक करोड ५६ लाख १५ हजार विपिनकुमार आचार्य
२०७७÷०६÷११ एक करोड गोर्खा मिडिया नेटवर्क
२०७८÷०१÷०५ एक करोड गोर्खा मिडिया नेटवर्क
२०७७÷१२÷१८ दुई करोड रवि लामिछाने
२०७८÷०३÷३१ तीन करोड ३० लाख भुपेन्द्रबाबु राई
२०७८÷०३÷०४ एक करोड गोर्खा मिडिया नेटवर्क
२०७८÷०६÷१३ ५० लाख गोर्खा मिडिया नेटवर्क
२०७८÷०६÷२४ २५ लाख गोर्खा मिडिया नेटवर्क

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार सहकारी ठगीको मुद्दा दायर गरेको छ । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ । त्यसमध्ये अधिकांश रकम गितेन्द्रबाबु र उनको समूहले सञ्चालन गरेको कम्पनीहरुमा गैरकानुनी रुपमा लगानी गरिएको छ ।

सुप्रिमको १४ करोड २९ लाख ३६ हजार रुपैयां गोरखा मिडिया नेटवर्कको विभिन्न बैंक खातामा लगेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्र अनुसार सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कको खातामा लैजाँदा कुनै पनि प्रक्रिया पूरा गरिएको छैन ।
५ करोड १५ लाख रुपैयां पेश्की लगानी भएको थियो भने ५ करोड ८४ लाख ३६ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा कर्जा स्वीकृत गरेर गोर्खा मिडिया नेटवर्कको बैंक खातामा जम्मा गरिएको छ ।

यसबाहेक सहकारीबाट गोर्खा मिडिया नेटवर्कले विभिन्न मितिमा ३ करोड ३० लाख रुपैयाँ पेश्की लिएको थियो । यो पेश्की रकम २०७८ असार ३१ गते भुपेन्द्रबाबु राईको नाममा ऋण कायम गरेर गोर्खा मिडियाले लिएको पेश्की सेटल गरिएको अभियोगपत्रमा उल्लेख छ ।

गितेन्द्रबाबु समूहले चलाएका सहकारीहरुमा भएको अनियमितालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले रविको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गरेको छ । रविले भने अनियमितामा आफ्नो संलग्नता नभएको दावी गरेका छन् ।
सुप्रिम सहकारीको सवा १४ करोड भन्दा बढी रकम रवि १५ प्रतिशत शेयर सदस्य भएकै बेला गोर्खा मिडिया नेटवर्कमा आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
सहकारीमा भएको अनियमिताको विषयलाई लिएर अहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चौतर्फी बिरोध भैरहेको छ ।