सहकारी ठगविरुद्द बुटवलमा प्रदर्शन, जिवी राई खोइ भन्देउ न रवि दाई

बुटवल, बैशाख ४ गते । सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई लगायतलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरुले बुटवलमा प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीका बचतकर्ताले मंगलबार प्रदर्शन गरेका हुन् । सहकारी पींडितहरुले बुटवलको राजमार्ग चौराहाबाट विभिन्न नारा जुलुससहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि ट्राफिकचोकमा आयोजित कोर्णसभामा बोल्ने सहकारी पीडितले सहकारी ठगलाई राजनीतिक संरक्षण भएको भन्दै संरक्षण नर्गन माग गरेका थिए । जीबी राई खोइ ? भन्देऊ न रवि दाई जीबी राई कहां छन् ? रवि दाइलाई थाहा छ, गृहमन्त्री आफ्नो बचन पूरा गर्, जीबी राई पक्राउ गरेर बचत रकम फिर्ता देउ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी सहकारी पीडितले सुप्रिमका बचतकर्ताको २ करोड रकम गैरकानूनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएपनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका छन् । सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुंदा रवि लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेपनि अहिले किन तयार नभएको भन्दै प्रश्न गरे ।

बचत कर्ता कृष्णप्रसाद खरेल र देवीलाल भट्टराईले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भएपनि प्रहरीले प्रतिवादी नबनाउंदा निष्पक्ष अनुसन्धान हुनेमा शंका रहेको बताए । सुप्रिमका अध्यक्ष जीबी राईसहित एमालेकै अर्का नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने सहकारी पींडितहरुको भनाइ छ ।

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।