बुटवलको आम्दा अस्पतालमा बाल मुटुरोग सेवा

बुटवल, बैशाख ४ गते । बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरवृद्वि गरी ३ सय बेड बनाउने तयारी गरिएको छ । आम्दा जापानको सहयोगमा २०५५ कार्तिक १६ गते अस्पताल स्थापना गरिएको हो ।

सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सम्झौतामा अस्पताल सञ्चालनमा छ । अहिले यो अस्पताल आफ्नै आन्तरिक श्रोत, स्थानीय संघ संस्थाको सहयोग र विदेशी दातृ निकायको सहयोग चलेको छ ।
अस्पातलामा बाल मुटुरोग सेवा, साना बच्चाहरुको अप्रेशन लगायत अन्य स्वास्थ्य सेवा सञ्चालन गरेको छ । त्यस्तै अस्पतालले आगमी साउन १ गतेबाट आमा सुरक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

हाल एक सय शैयाको गैर नाफामूलक च्यारिटी अस्पतालको रुपमा सञ्चालित अस्पतालले बाल तथा महिला मृत्यु दरलाई घटाउन योगदान पुराएको अस्पतलाका मेसु डा. विनोद पराजुलीले बताए । अस्पतालले मंगलबार सञ्चारकर्मीबीच आयोजना गरेको अन्तरक्रियामा मेसु डा. पराजुलीले आम्दालाई गैरनाफामूलक आत्मनिर्भर अस्पतालको रुपमा स्थापित गर्नुपर्ने बताए । उनले अस्पतालले पश्च्मि नेपालका बालबालिका तथा महिलालाई सेवा प्रदान गरिरहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउन पहल भैरहेको बताए । ।बुटवललाई स्वास्थ्य क्षेत्रमा बलियो बनाउन आफूले पहल गरिरहेको बताउंदै स्वास्थ्य क्षेत्रमा आम्दा अस्पताल आशाको केन्द्रको रुपमा स्थापित भएको बताए । सेवा विस्तारका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग पुराउने मेयर पाण्डेयले प्रतिवद्वता जनाएका छन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अस्पतालले समय सापेक्ष रुपमा अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । अस्पतालको थप विकासका लागि सहयोग गर्ने बताउंदै स्थानीय, विरामी र डाक्टरहरुवीचको सम्बन्ध राम्रो हुनुपर्ने उनको भनाइ छ ।नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले आम्दा अस्पतालले गुणस्तरी सेवा दिएर अस्पताल सर्वसाधारण नागरिकको पहुंचमा हुनुपर्ने सुझाव दिएका छन् ।

पे्रस संयोजक कल्पना तिवारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।