लुम्बिनीमा मिल्यो भागबण्डा

बुटवल, बैशाख ५ गते । लुम्बिनी प्रदेशसका सात वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

यसअघि प्रदेशसभामा ६ वटा समिति थिए । दलीय भागबन्डा मिलाउन विशेष अधिकार समितिलाई थपेर ७ वटा बनाइएको थियो । एमालेका तर्फबाट अर्थ उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र १ (१) का सांसद राजु श्रेष्ठ, भौतिक पूर्वाधार समिति सभापतिमा अर्घाखांची निर्वाचन क्षेत्र २ (२) का सांसद रामजीप्रसाद घिमिरे र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका गिरीधरीलाल न्यौपाने निर्वाचित भएका हुन् ।

कांग्रेसबाट सार्वजनिक लेखा समिति सभापतिमा बांकेकी माया पुन र कृषि, वन तथा वातावरण समितिको सभापतिमा नवलपरासी निर्वाचन क्षेत्र १ (१) का सांसद विश्वप्रेम पाठक निर्वाचित भए । माओवादीबाट प्रदेश मामिला तथा कानुन समितिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा र सामाजिक विकास समितिको सभापतिमा गुल्मीका यमबहादुर नेपाली सार्की निर्वाचित भए । त्यस्तै लुम्बिनी प्रदेशसभा सचिवालयले निर्वाचित सभापतिहरु घोषणा गरेलगत्तै सभापतिहरूलाई सभामुख तुलाराम घर्ती मगरले बुधबार नै पद तथा गोपनीयताको शपथग्रहण गराए ।

मिनी संसद्का रुपमा रहेका समितिमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर विभिन्न विषयमा दफावार छलफल गर्ने गरेपनि नेतृत्व १७ महिनादेखि सभापति चयन हुन सकेको थिएन । अहिले दलहरुवीच भागबण्डा मिलेपछि सहमति जुरेको हो ।