लुम्बिनीका ७ मन्त्रीले लिए शपथ

बुटवल, बैशाख ६ गते । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । बिहीबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट मन्त्रीहरूले शपथ लिएका हुन् ।
मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

२३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी र एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा १० सदस्यीय मन्त्रिपरिषद् थियो ।
बिहीबार बिहान मुख्यमन्त्री महराले १० सदस्यीय मन्त्रिपरिषद् बनाउँदा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका थिएनन् । एकीकृत समाजवादीले आफ्नो भागमा मन्त्री नपरेपछि उक्त दलले अहिलेको नयां गठबन्धनलाई दवाव दिएपछि मन्त्री नियुक्त गरेका हुन् ।
दलीय भागबण्डा नमिलेपछि लुम्बिनीमा एक मनत्रालय विस्तार गरी ११ मन्त्रालय बनाईएको छ ।