दीपेश पुन कारागार चलान

बुटवल, बैशाख ७ गते । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चारलाख रुपैयां जम्मा गर्न नसकेपछि कारागार चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले शुक्रवार सुप्रिम सहकारी ठगी प्रकरणमा चारलाख रुपैया धरौटीमा छोड्ने आदेश दिएको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष ओमप्रकाश गुरुङ लगायतका ६ जना सहित पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधिश श्रीप्रकाश उप्रेतीको ईजलासले धरौटीमा छोड्ने आदेश दिएको थियो। पुनसहित धरौटीमा छोड्न आदेश दिएको नविन अछामीले पनि धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्। अछामीसंग १० लाख धरौटी माग गरिएको थियो।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले पुन र अछामीले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको जानकारी दिए। धरौटी जम्मा गरेपछि भने उनीहरु रिहा हुने छन्। जिल्ला कारागार भैरहवाका प्रमुख जगत बहादुर बस्नेतले सुप्रिम सहकारी ठगि प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित पुन र अछामी कारागार आएको बताए ।

धरौटीमा छोड्न आदेश गरिएका दुर्गा चापागाईं पाण्डेय, नीता थापामगर, दीपक गुरुङ र रोशनी गुरुङ भने धरौटी रकम बुझाएर छुटेका छन्। दुर्गा चापागाई पाण्डेयसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २÷२ लाख रुपैयां धरौटी माग गरिएको थियो।
बचतकर्ताहरुको ९६ करोड बढि रकम ठगि प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउने आदेश भएको थियो ।